एजेन्सी । इङ्लिस फरवार्ड रहिम स्टेर्लिङले ह्याट्रिक पूरा गर्दा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ४-० गोलले हराउँदै सिटीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।
क्यारो रोडमा भएको खेलमा सिटीलाई जीत दिलाउन स्टेर्लिङले ह्याट्रिक पूरा गर्दा फिल फोडेनले एक गोल थपे । खेलको ३१ औं मिनेटमा वाल्करको पासमा स्टेर्लिङले गोल गर्दै सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । ४८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।
७० औं मिनेटमा डियासको पासमा स्टेलिङले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले खेलमा ३-० गोलको अग्रता लिएको थियो । यस्तै ९० औं मिनेटमा स्टेर्लिङले ह्याट्रिक पूरा गर्दै सिटीलाई ४-० गोलको जीत दिलाए ।
जीतसँगै सिटी २५ खेलबाट ६३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ भने पराजित नर्विच २४ खेलबाट १७ अङ्कको साथ १८ औं स्थानमा छ ।