ओली–दाहाल संवादपछि सचिवालयबीच बाझाबाझ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाल कम्प्याक्टका बारेमा बिहीबार बेलुकी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोनमा कुराकानी गरे। दाहालले टेलिफोनमा ओलीलाई एमसिसीबारे निर्णय गर्न आग्रह गरे।

जवाफमा ओलीले सत्ता गठबन्धनसँग प्रतिनिधिसभामा १ सय ६५ सदस्यसहित बहुमत रहेकाले यसबारेमा गठबन्धनले पहिले निर्णय गर्नुपर्ने बताए। गठबन्धनले एमसिसीबारे निर्णय गर्नेबित्तिकै एमालेले पनि धारणा सार्वजनिक गर्ने ओलीको जवाफ थियो।

एमसिसी सम्झौता अनुमोदनका लागि दिइएको समयसीमा नजिकिँदै गर्दा दक्षिण एसिया तथा मध्यएसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले टेलिफोन गरेकै दिन दाहालले ओलीलाई सम्पर्क गरेर एमसिसीबारे निर्णय लिन आग्रह गरेका हुन्।

सहायक विदेशमन्त्री लुले बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीसँग टेलिफोन गरेर एमसिसी अनुमोदनबारे जिज्ञासा राखेका थिए।

ओली र दाहालबीच भएको टेलिफोन संवादका बारेमा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए। रिजालले लेखेका छन्, ‘एमसिसीका सम्बन्धमा विदेशीले सोधुन् वा स्वदेशीले, नेकपा एमालेको धारणा स्पष्ट छ।’ उनले ‘एमसिसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै बिहीबार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा अध्यक्ष ओलीले स्पष्ट शब्दमा जवाफ दिएको बताएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *