वेस्ट इन्डिजमाथि भारतको क्लिन स्विइप

एजेन्सी । वेस्ट इन्डिजविरुद्ध घरेलु मैदानमा भएको एकदिवसीय सिरिजमा भारतले क्लिन स्विइप गरेको छ । शुक्रबार बेलुकी सम्पन्न तेस्रो एकदिवसीयमा वेस्ट इन्डिजलाई ९६ रनले पराजित गर्दै भारतले तीन खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो ।

जीतको लागि २ सय ६६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३७.१ ओभरमा अलआउट हुँदै १ सय ६९ रनमा समेटिएको थियो । इन्डिजको लागि ओडेन स्मिथले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३६ रन जोडे । कप्तान निकलोस पोरानले ३९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३४ रन बनाउँदा अल्जारी जोसेपले २९, डारेन ब्राभोले १९, ब्रान्डोन किङले १४, हाडेन वाइसले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

भारतको लागि मोहम्मद सिराज र प्रसिद्व कृष्णले ३/३ विकेट लिँदा दिपक चहार र कुलदिप यादवले एक/एक विकेट लिए ।

यसअघि नरेन्द्र मोदि रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित ५० ओभरमा २ सय ६५ रन बनाएको थियो । भारतको लागि श्रेयस आयर र ऋषव पन्तले अर्धसतक पूरा गरे । आयरले १ सय ११ बलमा सर्वाधिक ८० रन जोडे । उनले ९ चौका प्रहार गरे । यस्तै पन्तले ५४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५६ रन जोड्दा दीपक चहारले ३८, वासिङ्टन सुन्दरले ३३, रोहित शर्माले १३ र शिखर धवनले १० रन जोडे ।

वेस्ट इन्डिजको लागि जेसन होल्डरले ८ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिँदा अल्जारी जोसेप र हायडेन वाल्सले २/२ र ओडेन स्मिथ र फाबियन एलेनले १/१ विकेट लिए । अब दुई टोलीबीचको पहिलो टि-२० बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *