गाँजालाई औषधिजन्य प्रयोग गर्न दिइने

काठमाडौ । गाँजालाई औषधिका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिने गृहकार्य सुरु भएको छ । औषधिजन्य प्रयोजनका लागि गाँजाको उत्पादन, प्रशोधन तथा कारोबार भने पूर्ण रूपमा नियन्त्रित रहने गरी कानुनी मान्यता दिन गृहकार्य सुरु भएको हो ।

हाल नेपालमा गाँजालाई लागूऔषधका रूपमा राखी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ मा गाँजालाई लागूऔषध उल्लेख गरी उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाइएको हो । तथापि औषधिको प्रयोजनका लागि अनुसन्धान गर्ने अनुमति उक्त ऐनमै रहे पनि कार्यविधि नबन्दा सो प्रावधान लागू हुन सकेको छैन ।

गृह मन्त्रालयले गत सोमबार सार्वजनिक गरेको ‘गृह प्रशासन सुधार कार्ययोजना २०७८’मा गाँजालाई औषधिको प्रयोजनका लागि प्रयोग गर्न कार्यविधि बनाएर स्वीकृति दिने उल्लेख गरेको थियो । मन्त्रालयले कार्यविधि तयार गरी औषधिजन्य प्रयोगको बाटो खोले पनि प्रतिबन्ध नै फुकुवा गर्न भने ऐन संशोधन वा नयाँ तर्जुमा गर्नुपर्ने हुन्छ । त्यसको निर्माणको प्रक्रियासमेत अघि बढाउने तयारी सरकारले गरेको छ ।

गृह मन्त्रालय मातहतको लागूऔषध नियन्त्रण शाखाले गाँजालाई औषधिका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसँग परामर्शसँगै मापदण्ड निर्माणको तयारी पनि गरेको छ । उक्त शाखाका प्रमुख, उपसचिव गोकर्णप्रसाद उपाध्यायसहितको टोलीले यसका सम्भावना र त्यसले पार्ने प्रभावबारे अध्ययन गरिरहेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *