काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।
विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन् ।
राष्ट्रपति भण्डारीद्वारा गरिएको ट्वीटमा भनिएको छ, “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।”
मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा उनको आइतबार बिहान उनको निधन भएको थियाे ।
जनवरीको सुरुमा कोभिड संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार नहुँदा उनी आईसीयूमा उपचाररत थिइन् । उनले नेपाली गीतहरु पनि गाएकी छन् ।
उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् । उनलाई राष्ट्रिय प्रतिभाका रूपमा स्थापित गर्ने कार्य भने भारतको हिन्दी चलचित्र उद्योगमा गरेको कामले गरेको हो । उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो । पाँच वर्षको उमेरमा पिता दिनानाथ मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन् ।
दिनानाथ त्यस बेला थिएटर कलाकार थिए । पिताको मृत्यु पश्चात् उनको परिवार मुम्बई (तत्कालीन अवस्थामा बम्बई) बसाइँ सर्यो जहाँ किशोरावस्थामा मङ्गेशकरले मराठी चलचित्रहरूका लागि गाउन थालिन् ।
परिवारलाई सहयोग गर्नका लागि उनले केही चलचित्रमा छोटो भूमिका निर्वाह गरिन् तर उनले पछि त्यसमा आफ्नो मन नलागेको बताउने गरेकी थिइन् । सन् १९४९ मा महल चलचित्रको ’आएगा आनेवाला’ बोलको गीतले उनलाई फड्को मार्ने अवसर दियो । हिन्दी चलचित्रमा यो नै उनको पहिलो गीत थियो।
