लगातार दोस्रो जीतको खोजीमा नेपाल

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज हुने खेलमा नेपाल र अफ्रिकी राष्ट्र मौरिसस भिड्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुकी ४:४५ बजे शुरु हुनेछ । दुई टोलीबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १-० गोलले विजयी भएको थियो । नेपाललाई जीत दिलाउन बिमल घर्ती मगरले निर्णायक गोल गरेका थिए ।

चोट र प्रतिबन्धको कारण झण्डै २ वर्ष राष्ट्रिय टोली बाहिर रहेका बिमलले पुनरागमनको पहिलो खेलमा गोल गरेका हुन् । आज हुने खेलमापनि नेपाल जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ । अफ्रिकन राष्ट्रविरुद्धको पहिलो खेलमै जीत हात पारेको नेपाल उच्च मनोबलमा रहेको छ । आजको खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुरुवाती ११ मा केहि परिवर्तन गर्ने सम्भावना रहेको छ ।

अल्मुताइरीले दुई मैत्रीपूर्ण खेलको लागि छुट्टाछुट्टै टोलीको घोषणा गरेका थिए । यता मौरिससपनि आजको खेल जित्दै पहिलो खेलमा भोगेको हारको बदला लिन चाहन्छ । पहिलो खेलमा मौरिससले केहि गोल गर्ने अवसर सिर्जना गरेपनि नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले बिफल बनाएका थिए । मौरिसस अफ्रीका कप अफ नेसन्सको छनोटको तयारीमा रहेको छ ।

कोरोना महामारीको कारण मौरिससको घरेलु फूटबल १ वर्ष देखि बन्द रहेको थियो । सिमित खेलाडीलाई राखेर ४५ दिनको बन्द प्रशिक्षणपछि मौरिसस नेपाल आइपुगेको हो । मौरिससले शनिबार साढे २ वर्ष पछि पहिलो खेलको थियो । त्यसैलेपनि टोलीमा तालमेलको कमि रहँदा सोचेअनुरुप प्रदर्शन गर्न नसकेको मौरिससका मुख्य प्रशिक्षकले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *