सहिद दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको संदेश

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद दिवसको अवसरमा संदेश जारी गरेका छन् । राष्ट्रपति भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन् ।

यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना समेत संदेशमार्फत गरिएको छ ।

राष्ट्रपतिले वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकाङ्क्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले सहिद दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलन तथा २०६२/६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनलगायत विभिन्न राजनीतिक परिवर्तन सहिदकै त्याग, तपस्या र बलिदानबाट सफल भएको जनाएका छन् ।

प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना गर्ने जोखिमपूर्ण आन्दोलनमा खटिएका सबै सहिद मुलुकका सच्चा सपूत भएको प्रधानमन्त्रीद्वारा जारी संदेशमा उल्लेख छ ।

आम नेपालीलाई रैतीबाट नागरिक बनाउन, मुलुकमा राजनीतिक सामाजिक परिवर्तन ल्याउन तथा नागरिकलाई स्वतन्त्र र अधिकारसम्पन्न तुल्याउने सहिदको कदर स्वरुप आजको दिनमा विविध कार्यक्रमसहित सहिद दिवस मनाउँदै आईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *