भगवती लेमिनेट्सको फन्दामा एकपछि अर्को डिलर

काठमाडौं । भगवती लेमिनेट्सले प्लाइउड व्यापारबाट करोडौं राजस्व ठगेको प्रमाणसहित समाचार प्रकाशित भएपछि सोही संस्थाका एक वरिष्ठ कर्मचारीले अर्का डिलरले फर्जी बिलबीजक जारी गरेको प्रमाण उपलब्ध गराएका छन् ।

काठमाडौं सुकेधारास्थित एभरग्रिन प्लाइ सेन्टरका नाममा भगवती लेमिनेट्सले मंसिर १३ गते भ्याट नम्बर ३१८ उल्लेख गरी ना०६ख ५०७५ नम्बरको ट्रकमा सामान पुर्याएको छ । उक्त बिलको सबैभन्दा तल ‘के’, ‘पी’ र ‘जीटी’ लेखिएको छ । यसको अर्थ ‘के’ भनेको कच्चा बिल, ‘पी’ भनेको पक्का बिल र ‘जीटी’ भनेको ग्रान्ड टोटल हो । बिल नम्बर ३१८ मा कच्चा बिलमार्फत ७ लाख ६ हजार र पक्का बिलमार्फत १० लाख ९१ हजार गरी १७ लाख ९७ हजार लिएको देखिन्छ ।

‘आन्तरिक राजस्व कार्यालयले भगवती लेमिनेट्सको भ्याट नंम्बर ३१८ हेरे थाहा हुन्छ कुन कारोबार सक्कली हो र कुन कारोबार नक्कली भनेर’ – प्रमाण उपलब्ध गराउने कर्मचारीले भने ।

भगवती लेमिनेट्सको कर छल्ने यो तरिकाले गर्दा यसका सबै डिलरहरू एकपछि अर्को गर्दै फस्दै गएका छन् । डिलरहरूले पनि आफ्नो फाइदा, प्रोत्साहन र बोनसका लागि कर छल्न सहयोग गरेको देखिन्छ । कम्पनीका क्षेत्रीय बिक्री व्यवस्थापक, लेखापाल र परिवारका सदस्यहरूको तीनदेखि पाँच वर्षको बैंक स्टेटमेन्ट हेरे सबै जना ‘एन्टी मनी लन्डरिङ केस’ मा पक्राउ पर्ने देखिइसकेको छ । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *