कोरोना नियन्त्रणका लागि १५ दिन शैक्षिक संस्था बन्द गर्न नेता महरको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा काठमाडौंमा भएको कार्यक्रममा महरले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्ने बताए ।

महरले भने, “हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकीमूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।”

उनले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए । कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने महरको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *