एमाले जिल्ला अधिवेशन: कतै सहमति, कतै निर्वाचन

काठमाडौं। पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेकपा एमालेको जिल्ला अधिवेशन उद्घाटन गरेसँगै जिल्ला जिल्लामा एमाले नेतृत्व चयनको माहोल तातेको छ। कुनै जिल्लामा सर्वसम्मतको प्रयास जारी छ भने कुनै जिल्लामा निर्वाचनमा जाने पनि देखिएको छ। एमालेमा ८ वर्षपछि जिल्ला अधिवेशन गरी नयाँ नेतृत्व चयन गर्न लागिएको हो।

हाम्रा भक्तपुरस्थित संवाददाताका अनुसार एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ चुनिएका छन्। पछिल्लो संविधानसभा निर्वाचतमा माओवादीका तर्फबाट भक्तपुर क्षेत्र नं। १ बाट पराजित उम्मेदवार मिल सुवाल जिल्ला उपसचिव चुनिएका छन्।

यसैगरी दाङस्थित हाम्रा संवाददाता देवेन्द्र बस्नेतका अनुसार लुम्बिनी प्रदेशका तीन जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। दाङ, बर्दिया र पाल्पामा जिल्ला नेतृत्व सर्वसम्मत चुनिएका हुन्। दाङमा हुकुमबहादुर बस्नेतको नेतृत्वमा जिल्ला कमिटी सर्वसम्मत चयन भयो। यसैगरी, पाल्पामा धनेन्द्रराज अधिकारी तथा बर्दियामा लालबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।

एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलका अनुसार दुई जिल्लामा भने नेतृत्वका लागि चुनाव भएको छ। नवलपरासीमा मतदान भैसकेको छ भने शनिबार साँझसम्म मतगणना शुरुसमेत भइसकेको छ। यस जिल्लामा दुई समूह बनाएर चुनावी प्रतिस्पर्धा भएको छ। दीपेन्द्रराज अधिकारी र ठगप्रसाद गैरे नेतृत्वका दुई समूहबीच प्रतिस्पर्धा भएको हो।

यसैगरी कपिलवस्तुमा पनि निर्वाचन हुने पक्का भएको छ। शनिबार साँझ उम्मेदवारी दर्ताको प्रक्रिया चलेको छ। यसैगरी, गुल्मी, अर्घाखाँची, रूपन्देही र प्युठानमा भने सर्वसम्मत नेतृत्व चयनको सम्भावना रहेको र त्यसकै लागि छलफल भइरहेको एमाले प्रदेश अध्यक्ष कँडेलले जानकारी दिए।

यसैगरी, रुकुम पूर्वमा माघ २२ र २३ गते जिल्ला अधिवेशन हुनेछ भने रोल्पामा पनि सचिवको केही दिनअघि निधन भएका कारण अधिवेशन स्थगित भएको छ। प्रदेश अध्यक्ष कँडेलका अनुसार रोल्पामा अधिवेशन कहिले हुने भन्ने मिति भने तय भइसकेको छैन। सुर्खेतस्थित हाम्रा संवाददात नगेन्द्र उपाध्यायका अनुसार कर्णालीका १० जिल्लामध्ये शनिबार बेलुकासम्म दुई जिल्लामा मात्र सर्वसम्मत नेतृत्व चयन भएको छ। एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले डोल्पा र सल्यानमा सर्वसम्मत नेतृत्व चयन भएको जनाए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *