एनआईसी एशिया बैँकको रकम लुट्ने चार जना पक्राउ

काठमाडौं । काठमाडौँको नयाँबानेश्वरस्थित एनआईसी एशिया बैँकको रकम लुट्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना बैंकका कर्मचारी समेत रहेका छन् । प्रहरीका अनुसार अनुसन्धानबाट चोरीमा कर्मचारीकै संलग्नता रहेको थाहा पाएपछि बैंकका कर्मचारी प्रदीप खत्री पक्राउ गरिएको हो ।

उनी नै यस लुटपाटको मुख्य योजनाकार पनि रहेको अनुसन्धाबाट खुल्न आएको छ । प्रहरीका अनुसार खत्रीले एनआईसी एशिया बैंकको बानेश्वर शाखामा कुनै पनि कम्पनीले बैंकमा ठूलो रकम जम्मा गर्न खोजे सम्बन्धित ठाउँमा नै पुगेर रकम संकलन गर्ने गर्दथे । रकम लुटपाटमा संलग्न विमल तामाङ, अनिस खड्का र शक्ति पौडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरूले एनआईसी एशिया बैंकको बानेश्वर शाखाको १६ लाख तीस हजार चार सय २४ रुपैयाँ १८ पुसमा लुटेका थिए ।

उक्त रकम लुटेपछि उनीहरुले एकआपसमा भाग लगाएको पनि प्रहरीले जनाएको छ । चार जनामध्ये शक्ति पौडेलको भागमा छ लाख तीस हजार चार सय चौबीस रुपैयाँ, बिमल तामाङको भागमा तीन लाख रुपैयाँ प्रदीप खत्रीको भागमा तीन लाख रुपैँया, अनिष खड्काको भागमा चार लाख रुपैयाँ परेको प्रहरी जनाएको छ ।

प्रहरीले उनीहरुबाट तेह्र लाख छयालीस हजार बरामद गरेको छ भने बाँकी रकम उनीहरुले खर्च गरेको खुल्न आएको छ । अनुसन्धानबाट प्रदीप खत्री र विमल तामाङ चिनजानका साथी भएको खुलेको थियो । तामाङ बानेश्वरस्थित विद्युतीय स्कुटर सोरुममा चालकका रुपमा काम गर्दथे । बैंकका कर्मचारी खत्रीले आफूले बैंकको रकम संकलन गर्ने गरेको उनलाई बताएका थिए ।

उनले मौका मिलाएर त्यो रकम लुट्ने योजना पनि तामाङलाई बताएको अनुसन्धानबाट खुलेको छ । सोही अनुसार उक्त योजना तामाङले शक्ति पौडेलमार्फत राखेका थिए । शक्तिले अनिस खड्कालाई लुटपाटका लागि तयार पारेका थिए । उपयुक्त अवसरका खोजीमा रहेका उनीहरुले १८ पुसमा प्रदीपले त्यही योजना सफल पार्न विमललाई बैंकको रकम लुट्न तामाङको समूहलाई बोलाएका अनुसन्धानबाट खुलेको छ । आइतबार ४ बजे लुटिएको रकमबारे प्रहरीलाई उनीहरुले साढे ५ बजे मात्रै जानकारी गराएको प्रहरी जनाएको छ ।

खत्रीले १८ पुसमा बानेश्वरस्थित वडा १० को कार्यालयबाट नगद १२ लाख ४५ हजार र मेटलाइफ इन्स्योरेन्सबाट नगद ३ लाख २५ हजार ४ सय २४ संकलन गरेर आउँदा उनको योजना अनुरुप चोरी भएको थियो । उनीसँगै मोटरसाइकमा बैंककी महिला कर्मचारी आरुसी भण्डारी रहेको प्रहरी जनाएको छ । मध्य बानेश्वरस्थित ग्लोबल कलेज अगाडि पुगेपछि भने मोटरसाइकलको पेट्रोल सकिन लागेको भन्दै खत्रीले मोटरसाइकल रोकेका थिए ।

सोही क्रममा विमल तामाङ, अनिस खड्का र शक्ति पौडेलले मोटरसाइकलको पछाडि बसेकी आरुसी भण्डारीले बोकेको पैसाको ब्याग लुटेर भागेको प्रहरी जनाएको छ । अनुसन्धानका क्रममा प्रदीपको भूमिका शंकास्पद देखिएपछि १८ पुसमै नियन्त्रणमा राखेर सोधपुछ गरेपछि घटना उनकै योजनामा भएको खुलेको थियो ।

लुटपाट गरेर प्रदीपका साथीहरु फरार भएको प्रहरीले जनाएको छ । फरार भएका उनीहरुलाई प्रदीपमार्फत नै पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रदीपलाई थप तीन करोड रुपैयाँ लुट्न बोलाउन लगाएर बानेश्वर आइपुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *