USAID

वर्षमा एकपटक नेपाल नआई मेरो मन मान्दैन

सन् १९४४ मा इटालीमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा छन् । विश्वका आठ हजार मिटर (२६ हजार फीट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनी नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुन् । ७७ वर्षीय मेस्नर अहिले पनि नेपालको पर्वतीय पदयात्रामा गहिरो अभिरुचि राख्छन् । नेपाललाई अति मन पराउने उनले अहिलेसम्म ५० पटक यहाँको भ्रमण गरिसकेका छन्।

सन् १९७० देखि हिमाल आरोहण गर्न शुुरु गरेका उनले पहिलो पटक सगरमाथाको एकल तथा विनाअक्सिजन पिटर हाबेलरसँग मिलेर अर्को आरोहण गरेका थिए । उनले सन् १९७० र १९७८ मा मा नङ्गा पर्वत ९८,१२५ मि०, १९७२ मा मनास्लु (८,१६३ मिटर), १९७५ र १९८४ मा गाशेरब्रम प्रथम (८,०८० मि०, १९७८ र १९८० मा सगरमाथा (८,८४८ मि), १९७९ मा के टु (८,६११ मि) र १९८१ म शिशपाङ्मा (८,०२७ मि) को सफल आरोहण गरेका थिए । यस्तै १९८२ र १९८४ मा कञ्चनजङ्घा (८,५८६ मि), १९८४ मा गाशेरब्रम दोस्रो (८,०३४ मि) र ब्रोड पीक (८,०५१ मि), १९८३ मा चो ओयु (८,१८८ मि), १९८५ मा अन्नपूर्ण (८,०९१ मि ), धौलागिरि (८,१६७ मि) तथा १९८६ मा मकालु (८,४८५ मि) र ल्होत्से (८,५१६ मि) को आरोहण गरेका थिए । अन्टार्कटिका र ग्रीनल्याण्ड पार गर्ने पहिलो नागरिक उनले गोबी मरुभूमि पनि एक्लै पार गरेका थिए ।

उनका आरोहण र अन्वेषणका क्रममा आफ्ना अनुभवबारेका ८० भन्दा बढी पुस्तक प्रकाशित छन् । श्रीमती डायने छुमाछेरसँग सन् २०२२ को नयाँ वर्ष मनाउने क्रममा नेपाल आएका उनी केही दिन नाम्चे बसेर काठमाडौँ फर्किएका थिए । ठमेलस्थित काठमाडौँ गेष्ट हाउसमा बसेका उनीसँग आजै स्वदेश फर्किनुअघि राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता कृष्ण अधिकारीले गरेको सङ्क्षिप्त कुराकानी :

 तपाईँलाई के कुराले नेपालको भ्रमण गर्न प्रेरित गर्छ ?

जतिबेला नेपालका हिमाल आरोहण गर्ने लक्ष्य लिएर म नेपाल आएँ, त्यसबेलादेखि नै मलाई यहाँको प्राकृतिक सौन्दर्यसँगै नेपालीको व्यवहारले लोभ्यायो । पहिलोपटक सन् १९७८ मा सगरमाथाको आरोहण गरेपछि नेपालका अन्य हिमाल पनि आरोहण गर्ने चाहना ममा बढेर आयो । यहाँका हिमाल आरोहण गरेपछि नेपाली जनतालाई पनि बुझ्न पछि आएँ । नेपाललाई पर्यटन प्रवद्र्धन गराउन पाएकामा म आभारी छु । मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु । नेपाली कला, संस्कृतिबाट म निकै प्रभावित छु । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यबाट म निकै प्रभावित भएको छु । नेपाल त स्वर्गको टुक्रा नै हो, यहाँका बासिन्दा, हिमाल र प्राकृतिक सौन्दर्यको जति वर्णन गरे पनि सकिँदैन । नेपालीहरूको सरल व्यवहार र हँसिलो अनुहारलाई बिर्सन सक्दिन । त्यही मोहले मलाई बर्सेनि नेपाल भ्रमण गराउन प्रेरित गर्ने गरेको छ । वर्षमा कम्तीमा एकपटक नेपाल नआई मेरो मनै मान्दैन ।

तपाईँ नेपालका हिमाल आरोहण गर्दा र अहिलेका अवस्थामा के फरक देख्नुहुन्छ ?

५० वर्षअघि मैले नेपालका विभिन्न हिमशृङ्खलाको आरोहण गर्दा र अहिलेका अवस्थामा धेरै परिवर्तन भएको मैले महसुस गरेको छु । त्यतिबेला हिमालका बारेमा आरोहीहरूलाई कुनै जानकारी थिएन । कुन हिमालको अवस्थिति कस्तो छ, कुन समयमा कुन रुटबाट कसरी आरोहण गर्ने भन्ने ज्ञान थिएन, के कस्ता सामग्री लैजानुपर्ने हो र कुन रुट प्रयोग गर्ने भन्ने जानकारी नभएको अवस्थामा आरोहण गर्नु निकै चुनौतीपूर्ण थियो । हामी आरोहीका साथ जाने शेर्पाहरूमा पनि आरोहणको अनुभव थिएन तर अहिले आरोहणका बारेमा पर्याप्त जानकारी र सूचना पाउन सकिन्छ, शेर्पाहरूबाट पूर्ण सहयोग हुन्छ ।

 नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव देखिन थालेकै हो ?

हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून रहे पनि त्यसबाट सिर्जित जलवायु परिवर्तनको असरबाट बढी नै प्रभावित बनेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालको हिमालय क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अमादब्लम, मनास्लुलगायत हिमालयहरूमा पहिलेको तुलनामा निकै कम हिउँ पर्ने गरेको छ । हिजो वर्षैभरि हिउँले ढाक्ने चुचुराहरू पनि अहिले काला पहाड बनेका छन् । बिस्तारै हिमाली क्षेत्रको वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा बढ्न जाँदा हिमताल फुट्ने, हिमनदी पग्लिने र हिमालहरूमा हिउँ पर्ने क्रममा निकै ह्रास आएकाले हिमालय क्षेत्रको पर्यावरणमा निकै फेरबदल भएको छ । जलवायु परिवर्तनले मनसुनको ढाँचा र वायु प्रणालीले हिमालय आरोहणलाई थप जोखिम बनाएको छ । केही वर्षयता हिमाली भेगमा हिमपहिरो, हिमआँधीजस्ता विपद्हरूको क्रम बढ्दो छ ।

 यस्ता घटना न्यूनीकरण गर्न के कुरामा ध्यान दिनुपर्ला ?

औद्योगीकीकरण, सवारी साधनको व्यापक प्रयोग, खनिज इन्धन र उपभोक्तावादका कारण सम्पूर्ण जलवायु प्रणाली सन्तुलनमा नरहेका कारण यस्ता चुनौती बढेका हुन् । हिमाली क्षेत्रमा देखिएको जलवायु परिवर्तनका प्रभावका विषयमा नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा आवाज उठाउनाका साथै आन्त्रिक रूपमा पनि केही कामहरू गर्नुपर्ने हुन्छ । व्यवस्थित शहरीकरण, स्वच्छ ऊर्जाको प्रयोग र जीवनशैलीमा परिवर्तन ल्याउनु आवश्यक हुन्छ ।

 नेपालमा पर्वतीय पर्यटनको सम्भावना कत्तिको देख्नुहुन्छ ?

नेपालमा पर्वतीय पर्यटनको प्रचूर सम्भावना रहेकाले यसको विकासका लागि रणनीतिक योजनासहितका कार्यक्रम तय हुनुपर्ने देखिन्छ । नेपाल ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण रहेकाले योजनाबद्ध र दिगो तवरबाट विकासमा ध्यान दिन सकेमा नेपालले पर्यटनबाट धेरै फाइदा लिन सक्छ । देशको ८० प्रतिशतभन्दा बढी भाग पहाड र उच्च हिमाली भेगले ढाकेको, यहीँ विश्वका आठ हजार मिटर माथिका १४ उच्च हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित अधिकांश रहेको र विश्वको सबैभन्दा लामो पर्वतमाला हिमालयको मुख्य भाग पनि रहेकाले पर्वतीय पर्यटनका लागि नेपाल विश्वकै अद्वितीय गन्तव्यका रूपमा परिचित छ । देशको समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक छ ।

 नेपालको पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गराउन तपाइँको ठूलो योगदान छ । आगामी दिनमा यसलाई अझ विस्तार गर्न यहाँले केही सोच्नुभएको छ कि ?

नेपालका आठ हजार मिटरभन्दा बढी उचाइका हिमालहरू आरोहण गर्दाका अनुभव र उहाँको पर्वतीय पर्यटनका बारेमा झण्डै ८० भन्दा बढी पुस्तक तथा जर्नलमा मेरा लेखहरू प्रकाशन भएका छन् । मैले निर्माण गरेका थुप्रै वृत्तचित्रले अन्तरराष्ट्रिय जगत्मा नेपाललाई चिनाउन मद्दत पुगेको नै छ । नेपालको सद्भावना दूतका रुपमा मैले आफ्नो जन्म देश इटालीलगायत युरोपका अन्य देश र विश्वका धेरै देशमा नेपालको पर्यटन र हिमालका बारेमा प्रवचन दिँदै आएको छु । मैले इटालीकै विभिन्न शहरमा नेपाली कला, संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरेको छु । अहिले म सोलुखुम्बुको नाम्चेमा कला सङ्ग्रहालय निर्माण गर्न लागिपरेको छु । विश्वकै उच्च स्थानमा रहने सङ्ग्रहालय आगामी वर्ष उद्घाटन गर्ने तयारी भएको छ । नेपालको पर्यटनसँग मेरो गहिरो सम्बन्ध रहेकाले आजीवन अन्तरराष्ट्रिय जगत्मा नेपाली कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने नै मेरो सोचाइ छ ।

 नेपाली पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकार, पर्यटन व्यवसायी र नागरिकका तर्फबाट गरिनुपर्ने केही मूलभूत सुझावहरू छन् कि ?

पर्यटकहरू औसत नभई विशिष्ट अनुभव लिनका लागि नेपाल घुम्न आएका हुन्छन् । पर्यटकलाई मन पर्ने ढङ्गबाट यहाँका ऐतिहासिक धरोहर, सांस्कृतिक–परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्य–सत्कार, साहसिक गतिविधि र खेल एवं नौला ठाउँ अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नुपर्छ । नेपालका हिमशिखरहरू आरोहण गर्न आउने अधिकांश आरोहीहरू काठमाडौँ उत्रिएलगत्तै हिमालका आधार शिविरतर्फ लाग्ने र त्यहाँबाट काठमाडौं हुँदै सिधै स्वदेश फर्किने गरेकाले तिनलाई यहाँको पदयात्रासँगै कला, संस्कृति र विविधताका बारेमा पनि अवगत गराउन सकिएमा नेपालको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग पुग्ने छ । पछिल्लो समय विश्वका विकसित देशका नागरिकजस्तै नेपालीमा पनि मोबाइल फोनको बढ्दो प्रयोगले गर्दा विदेशी पाहुनासँग खुलेर कुरा गर्ने, अभिवादन गर्नेजस्ता क्रियाकलाप क्रमशः घट्दै गएको देख्दा मलाई चिन्ता लागेको छ । यसबीचमा पर्यटकीय पूर्वाधारका क्षेत्रमा धेरै कामहरू भएका छन् तर पनि अझै धेरै ठाउँमा सुरक्षित र व्यवस्थित हवाइ उडान, पदयात्रा निर्माण, होटलको सुविधा, कला संस्कृतिको जगेर्ना र जैविक विविधताको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *