देउवामाथि दबाब बढाउँदै इतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।

इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो ।

सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको शक्तिलाई उपेक्षा गरेर अघि बढ्दा उहाँको इच्छा कसरी पूरा हुन्छ?,’ महामन्त्री थापाले बैठकमा भने ।

बैठकमा धारणा राख्दै थापाले केन्द्रीय सदस्य मनोनीत गर्दादेखि बाग्मती प्रदेशमा सरकार विस्तार गर्दासम्म पनि सभापतिले पार्टीभित्र छलफल नगरेको बताएका हुन् । बैठकमा महामन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन अन्य दलसँग गठबन्धन गरिए पनि आगामी तीनै तहको निर्वाचनमा कांग्रेस वडादेखि केन्द्रसम्म एक्लै भिड्ने अवस्थामा रहेकोसमेत बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनसँगै गठबन्धन बनाएर चुनाव लड्ने कामको अन्त्य हुनुपर्छ, हामी वडादेखि केन्द्रदेखि एक्लै चुनाव लड्नुपर्छ, त्यो ताकत हामीसँग छ,’ महामन्त्री थापाले बैठकमा धारणा राख्दै भने । नेता अर्जुननरसिंह केसीले सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार छान्दा अर्थात् कार्यकालको सुरुवात नै विधानविपरीत मनोमानी गरेको बताए ।

‘विधान, विधि र पद्धतिअनुसार चले सभापतिलाई सघाउन तयार छौं तर उहाँको गति त्यस्तो देखिएन । अब कांग्रेसभित्र वैचारिक आन्दोलन हुन्छ,’ केसीले भने । उनले पार्टीलाई विधि र विधानअनुसार चलाउने तथा पार्टीभित्र एकता सहमति र सहअस्तित्वलाई स्वीकारेर अघि बढे सभापतिलाई सहयोग गर्ने नभए संघर्ष पनि सँगै अघि बढ्ने स्पष्ट पारे ।

१४औं महाधिवेशनपछि सभापति देउवाले दुई चरणमा १३ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्दा विधि पद्धति मिचेको उनले भनेका हुन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *