राष्ट्रिय सभा निर्वाचन: गठबन्धन मिल्दा एमालेलाई चुनौती

काठमाडौं। १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई चुनौती थपिएको छ ।

२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेकातर्फबाट रिक्त हुँदै छ । यस्तै, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र कांग्रेसका तीन सदस्यको पदावधि पनि सोही मितिमा सकिँदै छ । तर, गठबन्धनसहित अघि बढेका सत्तारूढ दललाई राष्ट्रिय सभा निर्वाचनमा थप नाफा हुने देखिँदा एमालेलाई भने चुनौती थपिएको हो ।

निर्वाचन आयोगले सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य विभिन्न समूह गरी १९ सिटका लागि १२ माघमा निर्वाचन गराउन लागेको छ । सोही प्रयोजनका लागि मंगलबार आयोगले उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेकोमा सातै प्रदेशमा गरी ४३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

जसमध्ये नेकपा ९एमाले० बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट पाँच जना, नेकपा (एकीकृत समाजवादी_ बाट पाँच जना, जनता समाजवादी पार्टी नेपालबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना, नेपाल मजदुर किसान पार्टीबाट दुई जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट एक जना र राष्ट्रिय जनमोर्चाबाट एक जनाको उममेदवारी परेको हो ।

सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन कायम राख्दै एमालेकातर्फबाट रिक्त हुने सिटमासमेत भागबन्डा गरेर जाने निर्णय गरेपछि एमाले भने एक्लै अघि बढेको छ ।

गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका आठ सिटमा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले एक÷एक सिट पाउने गरी सहमति भएको हो । १९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले पाँच÷पाँच सिट तथा जसपालाई दुई र जनमोर्चालाई एक सिट परेको हो ।

गठबन्धनमा रहेका दलबीच भएको सहमति कार्यान्वयन भए कांग्रेसले पुरानो सिटलाई आफ्नो पक्षमा कायम राख्दै थप तीन सिट नाफामा हुनेछ । यस्तै, माओवादी केन्द्र र नेकपा एस एक÷एक सिट नाफामा हुनेछन् भने जसपा र राष्ट्रिय जनमोर्चा सबैभन्दा बढी नाफामा पर्नेछन् ।

कुल ५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनीत तीन जना सदस्य छन् ।

१२ माघमा हुने निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *