पुनर्निर्माण सम्पन्न, टहरामै राष्ट्रिय पुस्तकालय

भक्तपुर। २०७२ साल वैशाख १२ को भूकम्पले ध्वस्त धेरै संरचना, सम्पदा र भवन पुनर्निर्माण भए । पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण यसै महिनादेखि खारेज भएको छ । तर नेपालकै राष्ट्रिय पुस्तकालय भने आफ्नै नाममा जग्गा नभएका कारण पुस्तकालय सेवा दिन असमर्थ रहेको गुनासो छ ।

यस्तैमा त्यही भूकम्पले क्षतविक्षत बनाएको बौद्धिक सम्पदा भने जग्गा नै नहुँदा ललितपुरबाट भक्तपुर पुगेर बल्ल टहराबाट सोमबारदेखि ज्ञान बाँड्न थालेको छ । यसको सानो सेवा भने ललितपुरबाटै दिइँदै छ । भूकम्पपछि राष्ट्रिय पुस्तकालयका पुस्तकहरू काठमाडौँको ज्ञानेश्वरस्थित महेन्द्र भवन माविको भवन, सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रको गोदाम र हरिहर भवनकै बाल शाखाको गोदामभित्र बोरामा राखिएका थिए ।

तत्कालीन नायब बडागुरु हेमराज शर्मा पाण्डेको निजी सङ्कलनमा रहेको भारती भवन पुस्तकालयमा रहेका करिब ३० हजार पुस्तक तीन लाख भारतीय रुपियाँमा किनेर र केन्द्रीय सचिवालय पुस्तकालय सिंहदरबारमा रहेका करिब आठ हजार पुस्तकसमेत मिलाएर २०१३ साल पुस १३ देखि पुस्तकालय सेवा सुरु गरिएको थियो ।त्यही दिनको स्मरण गर्दै स्थापना दिवस पुस १९ नै पारेर टहराबाट सेवा सुरु गरिएको हो । सुरुमा सिंहदरबारमै रहेको पुस्तकालय धेरै ठाउँ सर्दै अहिले भक्तपुरको सानोठिमी पुगेको छ ।

जग्गा प्राप्तिको प्रस्ताव भने मन्त्रिपरिषद्मा रहेको बताइएको छ । स्थापनाताका यो पुस्तकालय सिंहदरबारभित्रको सिक्री ढोका भन्ने भवनमा थियो । २०१७ सालमा यसलाई सिंहदरबारबाट ललितपुरस्थित हरिहर भवनमा सारिएको थियो । २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण सङ्कलनको सूचीकरण सम्पन्न गरेको थियो । अहिले पुस्तकालयमा एक लाख ५० हजार पुस्तक छन्  । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *