सञ्चिता घिमिरे, काठमाडौँ । महाकाली करिडोर अन्तर्गत दार्चुला–तिङ्कर सडकमा ७५० मिटर ट्रयाक खुलेको छ । सरकारले सेनालाई ७५ किलोमिटर ट्रयाक खोल्न जिम्मेवारी दिएकोमा गत मङ्सिर मसान्तसम्ममा चार मिटर चौडाइको सडक खुलाइएको हो । महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ ।
सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिङ्कर सडक सेनालाई दिएको थियो । सुरुमा लम्बाइ ८७ किलोमिटर रहेकोमा सर्वेक्षणपछि ७५ किलोमिटर मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताउनुभयो । सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो । दार्चुला सदरमुकाम खलङ्गाबाट ४० किलोमिटर माथि सुनसरा र ६० किलोमिटरमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जनाएको छ ।
कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले जानकारी दिए । यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ । सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुङ्गाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले बताए । कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उनको भनाइ छ ।
दार्चुला–तिङ्कर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमी सडक विभागबाट निर्माण भइरहेको थियो । सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन सुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्रयाक खोलिएको छ । तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किलोमिटर सडकको ट्रयाक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए ।
तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, “दार्चुला–टिङ्कर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।” चालू आर्थिक वर्षमा सो योजनाको बजेट २२ करोड ५० लाख रहेको थियो ।
चालू आर्थिक वर्षमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेकोे छ । चालू आर्थिक वर्षभित्रै सात किलोमिटर नयाँ ट्रयाक खाल्ने लक्ष्य लिइएको छ । चार मिटर चौडाइको तीन किलोमिटर र छ मिटर लम्बाइको चार किलोमिटर ट्रयाक खोल्ने लक्ष्य लिइएको हो ।
उनले भने, “त्यहीअनुसार काम भइरहेको छ ।” भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिङ्करसम्म ४२५ किलोमिटर सडकमा ८७ किलोमिटर सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ ।
विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किलोमिटर काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए । सेना आफैले ट्रयाक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, “मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।” सो सडकमा निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताए ।
सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनुपर्नेमा उहाँको जोड छ । सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ । सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाह्रो हुने उनले बताए । उनले भने, “सेनाले नै ट्रयाक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ ।”