USAID

जसको दुग्धजन्य पदार्थ बजारमा बिक्दैन

राजेन्द्र पनेरु, कञ्चनपुर । नाम सोध्दा सहजै गौरसिंह भनेका उनी त्यसपछि एकछिन अड्किए, अनि अलि दबेको स्वरमा भने, ‘सार्की हो ।’ शुक्लाफाँटा नगरपालिका– ४ आसापुरका सार्कीले भैँसीको ध्यू बिक्रीका लागि बजार बजार घुम्दै हिँडेपनि बिक्री गर्न सकेनन् । त्यसको कारण एउटै हो, उनको जात ।

“म सार्की हुँ भन्ने थाहा पाएका कतिपय मानिसहरु आउँदै–आउँदैनन्, कति आएपनि खरिद नगरी फर्कन्छन्”, थर लुकाउनुको व्यथाबारे गौरसिंहले सुनाए, “त्यसैले सकेसम्म मेरो जात भन्दिनँ । व्यापार भएन भने मैले कसरी परिवार पाल्नु ?” राम्रोसँग तताएको भैँसीको शुद्ध दुई किलो ध्यू बेच्नका लागि झलारी बजारमा निकै घुमे तर दलित भएका कारण बिक्री गर्न सकिएन । “होटेल, पसल, डेरीमा लगे पनि बिक्री भएन”, उनले भने, “सबै जनाले ध्यू चाहिदैन भनेर फर्काए ।”

झलारी बजारमा सबैले दलित समुदायको व्यक्ति भनेर चिनेका भएर खरिद नगरेको उनको भनाइ छ । नचिनेको बजार महेन्द्रनगर पु¥याएर मुस्किलले ध्यू बिक्री गरेको उनले बताए । डेरी सञ्चालक भने सबै समुदायको विभेदसहित तरिकाले दूध राख्दै आएको उनको भनाइ छ । दलित भएकै आधारमा दुग्धजन्य पदार्थ खरिद नगरिएको होइन । खपतनै कम भएपछि कसरी राख्ने डेरी सञ्चालक बताउँछन् ।

“भैँसीको दूध बिक्रीका लागि बजारमा लगेपनि कसैले खरिद गर्दैनन्”, पदम दमाइँले भने, “डेरी सञ्चालकलेसमेत व्यक्ति हेरेर दूध खरिद गर्ने गरेका छन् । दलित समुदायका व्यक्तिले दूध बिक्रीका लागि ल्याए खपत कम छ । चाहिदैन भन्छन् । दलित समुदाय बाहेकका व्यक्तिले दूध ल्याए सहज रुपमा राख्ने गरिन्छ ।”

दलित समुदायलाई समाजमा हेर्ने दृष्टिकोणमा फरक नआउँदा अझै थिचोमिचो सहनु परेको उनको भनाइ छ । “दलित समुदायले पालेका गाईभैँसी खरिद गरेर कथित उपल्लो जातका व्यक्तिले लगेमा त्यसकै दूध दुहेर खान्छन् । तर दुहेर दूध बजारमा बिक्री गर्न लगे बिक्री हुदैन”, उनले भने, “दलित समुदाय शिक्षामा अगाडि नहँुदा र आर्थिक रुपमा सम्पन्न नहुँदाको परिणाम भोग्दै आएका छौं ।” गलत कुरीतिका कारण गरिबलाई गुजारा चलाउन समेत मुस्किल रहेको उनको दुःखेसो छ ।

“समाजले अझै समान व्यवहार गर्दैन, खोइ के भनुम्”, पदम दमाइँ बोल्दाबोल्दै रोकिए । समाज परिवर्तन भयो भनियो तर दलित भएकै कारण गौरसिंहहरूले भोगेका अथाह पीडाले कहिल्यै राज्य सञ्चालक गर्नेहरूलाई छोएन, न मर्दापर्दा काम लाग्ने भनिएका छिमेकीले नै कहिल्यै सम्मानको अनुभूति र आभास दिलाए । कथित तल्लो जात भएकै कारण गौरसिंहहरूले भोगेका पीडाहरू बाहिर आउँदैनन्, आए पनि सबैलाई सामान्य लाग्न थालेको छ । उनले भने, “म आफू कसैलाई भेदभाव गर्दिनँ, अरूले गर्छन् भने केही छैन ।”

अहिले पनि लगभग त्यस्तै छ, नयाँ पुस्ताले त खासै भेदभाव गर्दैनन्, पुराना मान्छेहरूको सोच र व्यवहार फेरिएको छैन पदम दमाइँले भने । जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) ऐन २०६८ अनुसार कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, उत्पत्ति, जातजाती, वंश, समुदाय, पेशा वा व्यवसायका आधारमा छुवाछुत गर्न पाइदैन ।

यस्तो भेद्भावजन्य कार्य गरे कानुन बमोजिम दण्डनीय हुने व्यवस्था छ । जातीय रुपमा छुवाछुत गर्नेलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना र एक महिनासम्म कैदको व्यवस्था समेत गरेको छ । राष्ट्रिय हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले दलित समुदायले उत्पादन गरेको दूध बजारमा बिक्री नहुनु मानव अधिकारको चरम उल्लङ्घन भएको बताए । “मानव भएर मर्यादित रुपम बाच्न आवश्यकपर्ने सबै प्रकारका अधिकारको ग्यारेण्टी हुनुपर्छ”, उनले भने, “कानुन बनाएर मात्रै हुँदैन । कार्यान्वयन गरिनुपर्छ ।

पेशा व्यवसायलाई मर्यादित रुपमा गर्न नपाउँदासम्म मानव अधिकारको प्रत्याभूत हुनसक्दैन ।” जीवनको निम्त नभइ नहुने गाँस, बास, कपास र विकासको निम्त नभइ नहुने शिक्षा, स्वास्थ्य र रोजगार संरक्षणका लागि नभइ नहुने शान्ति सुरक्षा र समानता नै मानव अधिकार भएको उनको भनाइ छ ।

दलित समुदायमाथि पेशा व्यवसाय अपनाएकै आधारमा हुने विभेद्, दलित समुदायका बालिबालिकाले उच्च शिक्षाका लागि सहरमा पढन जाँदा दलित भएकै कारण डेरा नपाउने समस्यासमेत मानव अधिकारको उल्लङ्घन भएको उनको बुझाइ छ । “संविधानले दलित समुदायलाई सम्मानजनक रुपमा समाजमा बस्न पाउने अधिकारको ग्यारेण्टी गरेको छ”, उनले भने, “यसलाई कार्यान्वयन गर्नुपर्ने आजको चुनौती छ । रुढीवादी समाजका कारण दलित समुदाय वर्षौदेखि अधिकारबाट वञ्चित भएका छन् । अब यसप्रति सबै सचेत हुनुपर्छ ।”

नेपाल छुवाछूतमुक्त घोषणा भएको, संविधानको प्रस्तावनामै जातीय भेदभाव गर्न नपाइने उल्लेख गरिएको, जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६८ आएको पदम दमाइँलाई थाहा छ । सँगै के पनि थाहा छ भने कानुन त बनाइयो तर त्यसको प्रभावकारी कार्यान्वयनमा राज्यले चासो देखाएन, दलितमाथि अन्याय भइरह्यो, दोषीले छुटकारा पाइरहे । तपाईं त यसवारे जानकार हुनुहुन्छ । छुवाछूत कसरी अन्त्य होला ? भन्ने प्रश्न गर्दा पदमले भने, “मानिसले मानिसलाई प्रेम गर्न सिकाउनुपर्छ, भेदभाव आफैं हराएर जान्छ ।”

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *