माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

काठमाडौं, पुस १२।नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । माओवादीले महाधिवेशनमार्फत नयाँ ब्रान्डको खोजी गर्ने नीति लिएको हो । नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ महाविधेशन शुरु भएको छ ।

२०६४ सालमा देशकै ठूलो पार्टी बनेको माओवादी पटक–पटक विभाजित हुँदा कमजोर हुने अवस्थामा पुगेपछि पार्टीको नयाँ ब्रान्डको विषयमा बहस शुरु भएको छ । पार्टी कमजोर हुँदै गएको सन्दर्भमा माओवादीले पार्टीलाई नयाँ विचारको साथ पार्टी निर्माणमा लाग्ने उद्देश्यसहित महाधिवेशनमा सहभागी प्रतिनिधिले नयाँ शिराबाट पार्टीलाई पुनः उठाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

संविधानसभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको माओवादीको भूमिका कमजोर अनुभव भइरहेकाले पार्टीलाई चिनाउन पहिचानको खोजी भएको छ । उद्घाटन शत्रमा उपस्थित भएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि उपेन्द्र यादवसम्मले माओवादीको बलमै संविधानसभाबाट संविधान जारी भएको भन्दै खुलेर प्रशंसा गर्नुभयो । माओवादीले उठाएको एजेन्डा संविधानसभा हुँदै संविधानमा लिपिबद्ध भए पनि कार्यान्वयनको तहमा भने माओवादीले आफूले भने अनुसार नेतृत्व गर्न सकिरहेको छैन ।

आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको महाधिवेशन स्थल निकै साँघुरो हुँदा उद्घाटन सत्रमा देशभरबाट आएका प्रतिनिधि नै सहभागी हुन पाएनन् । साँघुरो ठाउँका कारण प्रतिनिधि नै उद्घाटन सत्रमा सहभागी हुनबाट वञ्चित थिए । प्रतिनिधिलाई सम्झाउन उद्घाटनस्थलमा खटिएका स्वयंसेवकलाई हम्मेहम्मे परेको थियो ।

महाधिवेशनमा नियमित प्रक्रियाबाट छानिएका १ हजार ४ सय ८३ र मनोनीत १ सय ४८ गरी कुल १ हजार ६ सय ३१ को सहभागिता रहेको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार आयोजक समितिबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १ सय २५, केन्द्रीय विभागबाट १ सय २, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८ सय ३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधिका रुपमा सहभागी रहेका छन् ।

त्यसै गरी प्रदेश १ बाट ९६, प्रदेश २ बाट १ सय ६, बागमतीबाट १ सय २८, गण्डकीबाट ७४, लुम्बिनीबाट १ सय ५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

One thought on “माओवादी महाधिवेशनः नयाँ ‘ब्रान्ड’को खोजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *