इलोन मस्कले यसवर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने

संसारका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले यो वर्ष ११ अर्ब अमेरिकी डलर कर तिर्ने जानकारी दिएका छन् । मस्कले कति कर तिर्छन् भन्ने विषय सामाजिक सञ्जालमा विवादको विषय बन्दै आएको छ ।

यो साताको सुरुमा डेमोक्रेटिक सांसद एलिजाबेथ वारनले मस्कले अरू सबैको उदारताको फाइदा लिन रोक्नुपर्ने ट्वीट गरेकी थिइन् । त्यसपछि मस्कले ट्वीटमा लेखेका छन्,‘जसलाई कौतूहल छ, मैले यो वर्ष ११ अर्ब डलरभन्दा बढी कर तिर्नेछु।’

विद्युतीय कार कम्पनी टेस्ला र अन्तरिक्ष यात्रा कम्पनी स्पेसएक्सका संस्थापक मस्क यो वर्षको सुरुमा विश्वका सबैभन्दा धनी व्यक्ति घोषित भएका थिए । ब्लूमबर्ग बिलीअनेअर इन्डेक्सले उनको कुल सम्पत्ति करिब साढे दुई खर्ब अमेरिकी डलर आँकलन गरेको छ । टेस्ला १० खर्ब अमेरिकी डलर मूल्य पर्ने कम्पनी हो भने स्पेसएक्सको मूल्याङ्कन एक खर्ब अमेरिकी डलर गरिएको छ ।

गत साता टाइम म्यागजीनले मस्कलाई वर्ष व्यक्ति घोषित गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडन धनाढ्य व्यक्तिहरूको कर बढाउन इच्छुक छन्। तर यससम्बन्धी योजना संसद्मा अड्किएको छ । वारनजस्ता सांसदहरू धनी अमेरिकीको आयमा मात्रै होइन, उनीहरूको सम्पत्तिको बढेको मूल्यमा पनि कर लगाउनुपर्ने पक्षमा छन् ।

अमेरिकाका धेरै धनी व्यक्तिले सोझो हिसाबले तलब लिँदैनन् । उनीहरू आफ्नो सम्पत्ति शेयर र अन्य लगानीका रूपमा राख्छन् र ती सम्पत्तिमा ऋण लिन्छन् । मस्कले वारनको ट्वीटको उत्तर दिँदै आफूले अमेरिकी इतिहासमै एक वर्षमा सबैभन्दा धेरै कर तिर्ने बताएका थिए ।

कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा करविज्ञ रोबर्ट विलन्सले सन् २०२० मा अचम्म पार्ने करयोग्य आय देखाएका मस्कको त्यो प्रतिक्रिया उचित भएको बताएका छन् ।

मस्कले तिर्ने करको धेरै भाग अमेरिकी सङ्घीय कर निकायमा जाने तर त्यसको केही भाग टेस्ला र मस्कको गृहराज्य क्यालिफोर्नियाले पनि पाउने बताइएको छ । यो महिनाको सुरुमा टेस्लाले आफ्नो कर्पोरेट प्रधान कार्यालय टेक्ससमा सार्ने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *