भुटानमाथि नेपालको सहज जित

काठमाडौं । साफ यु-१९ वुमेन्स च्याम्पियनसिपमा नेपालले सहज जित निकालेको छ । शुक्रबार बेलुकी भएको खेलमा नेपालले भुटानलाई ४-० गोलले हराउँदै प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

वीर श्रेष्ठ शहेद शिपाही मोस्ताफा कमल रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन मेनुका आले मगरले दुई गोल गर्दा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल थपे । खेलको दोस्रो मिनेटमै मेनुकाले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन् । १८ औं मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

२१ औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाइन् । यस्तै ७२ औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४-० गोलको जित दिलाइन् ।

जितसँगै नेपाल ३ खेलबाट ७ अङ्क जोड्दै समूहको शिर्ष स्थानमा रहेको छ । समान अङ्क जोडेको बंगलादेश गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । अब नेपालले समूहचरणको अन्तिम खेलमा आइतबार भारतको सामना गर्नेछ । नेपाललाई फाइनल प्रवेशको लागि बराबरीको नतिजा पर्याप्त रहनेछ ।

तस्बिर:- साफ

Leave a Reply

Your email address will not be published. Required fields are marked *