अझै अस्तव्यस्त घरजग्गा कारोबार

काठमाडौं। घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ ।

सरकारी निकायबाट विभिन्न समयमा गरिएका अध्ययन÷प्रतिवेदनहरूले घरजग्गा कारोबारलाई व्यवस्थित गर्न नसक्दा राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको देखाएको थियो । राजस्व बोर्ड, महालेखा परीक्षकको पछिल्ला प्रतिवेदनहरूले त्यस्तो कारोबार कम्पनी मोडलबाट हुनुपर्ने र सबै कारोबारको विवरण डिजिटल राखिनुपर्ने बताएका थिए । तर, अहिलेसम्म सरकारी तवरबाट त्यससम्बन्धमा परिणाममुखी कुनै कामै भएको छैन ।

नेपाल राजस्व परामर्श समितिको हालैको प्रतिवेदनअनुसार घरजग्गाको क्षेत्र नेपालको अर्थतन्त्रमा योगदान पु¥याउने अग्रणी क्षेत्रहरूमध्ये एक हो । आर्थिक वर्ष २०७६र७७ को कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान ११ प्रतिशत रहेको थियो । तथापि यो क्षेत्र सबैभन्दा अनौपचारिक क्षेत्रका रूपमा रहँदै आएको छ । प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा घरजग्गाको मूल्य अत्यन्तै अस्थिर रहने गरेको छ, जसको निर्धारण मुख्यतः स्थानीय अनधिकृत जग्गा दलालहरूबाट हुने गर्छ ।’

प्रतिवेदनमा सरकारले अपेक्षाकृत रूपमा यस क्षेत्रलाई नियमन गर्न नसकेको उल्लेख छ । घरजग्गाको कारोबारमा वास्तविक कारोबार रकम लुकाउने प्रवृत्ति बढ्दै जाँदा देशले निकै ठूलो राजस्वसमेत गुमाउन परिरहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनका क्रममा अवास्तविक कारोबार अंक देखाएर कम कर लाग्ने गरी कर छल्ने अभ्यास अत्यधिक रहेको फेला परेको छ । घरजग्गा बजार व्यवस्थित र नियमित रहेका विकसित देशहरूमा भने घरजग्गा कारोबारसम्बन्धी अभ्यास र मूल्य सरकार वा नियमन गर्ने निकायले नै वैज्ञानिक रूपले निर्धारण गर्ने र त्यसलाई सबै सरोकारवालाहरूले पालना गर्ने गरेको देखिन्छ । त्यसैले नेपालमा पनि क्षेत्रगत समस्या पहिचान गर्न तथा यस क्षेत्रलाई एजेन्सीमार्फत करको दायरामा ल्याउन अध्ययन दलले सुझाव दिएको थियो ।

महालेखाको ५८औं प्रतिवेदनले घरजग्गा कारोबारीलाई कडा नियमन गरी बीचको बिचौलियामार्फत हुने कारोबारीलाई रोक्न सरकारलाई भनेको थियो । तर, यस क्षेत्रलाई व्यवस्थित गराउन भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले ठोस खालको कुनै नीतिगत निर्णय गरेका छैनन् । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *