काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकता महाधिवेशनअन्तर्गत नेतृत्व लिन अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङदेनले उम्मेदवारी दिएका छन्। उनीहरूले पदाधिकारीमा आआफ्नो टिम बनाएर मनोनयन दर्ता गरेका छन्।
उपाध्यक्षका ४ पदमा जगतप्रसाद गौचन, रामचन्द्र राय यादव, लीलादेवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, बुद्धिमान तामाङ, दुर्गा श्रेष्ठ र ध्रुवबहादुर प्रधानको उम्मेदवारी परेको छ। राप्रपाको विधानमा चार उपाध्यक्षमध्ये कम्तीमा एक सिटमा महिला निर्वाचित हुनुपर्ने व्यवस्था छ।
उपाध्यक्षमा उम्मेदवारी दिनेमध्ये बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की कमल थापाको टिमका हुन्। विक्रम पाण्डेलाई दुवै टिमले आआफ्नो सूचीमा राखेका छन्। दुर्गा श्रेष्ठले टिमभन्दा बाहिरबाट उम्मेदवारी दर्ता गरेको बताइएको छ।
यसैगरी महामन्त्रीका तीन पदका लागि रेखा थापा, कुन्तीकुमारी शाही, धवलशमशेर राणा, श्यामप्रसाद तिमिल्सेना, भुवनकुमार पाठक र भाष्कर भद्राले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा पनि एकजना अनिवार्य महिला हुनुपर्छ।
महिला सिटका लागि रेखा थापा र कुन्ती शाहीले उम्मेदवारी दिएका छन्। महामन्त्रीका उम्मेदवारमध्ये थापा,राणा र तिमिल्सेना लिङदेन पक्षका उम्मेदवार हुन्। यस्तै १ सय ४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाको उम्मेदवारी दर्ता भएको छ।
नेता भुवन पाठकका अनुसार शनिबार मतदान हुनेछ। मतदान सकिएलगत्तै मतगणना गर्ने कार्यक्रम छ। अध्यक्षबाहेक अन्य पदका लागि मेसिनबाट मतदान हुने भएको छ। अध्यक्ष पदका लागि भने मतपत्र प्रयोग गरिने पाठकले बताए।
यसैबीच दुवै पक्षको तानातानमा परेका विक्रम पाण्डे शुक्रबारदेखि लिङदेनको पक्षमा खुलेका छन्। उनी लिङदेनसँगै चुनावी प्रचार सुरु गरेका छन्।
लिङदेन टिममा रहेका धवलशसमेर राणाले पाण्डे आफ्नो टिममा खुलेको प्रस्ट पारे। ‘उहाँ आज ९शुक्रबार० बाट हाम्रो टिममै खुलिसक्नुभयो र प्रचारसमेत सुरु गर्नुभयो’, उनले भने। पाण्डेलाई आफ्नो टिममा राखेर थापा पक्षले पोस्टरसमेत छापिसकेको थियो।
दुवै टिमका नेताले कार्यकर्तामाझ प्रचारप्रसार सुरु गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन आफूतिर भएको भन्दै लिङदेन टिमले कार्यकर्तालाई आफूतिर तान्ने प्रयास गरिरहेको छ तर पूर्वराजा निकट आधिकारिक व्यक्तिहरू भने यसबारेमा खुलेर बोलेका छैनन्। महाधिवेशनमा भाग लिन देशभरबाट करिब ५ हजार महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आएका छन्। त्यसमध्ये सबैभन्दा बढी प्रतिनिधि प्रदेश २ का छन्। नागरिक दैनिकबाट