स्वदेशमै पुनर्बीमा गराउन समितिको निर्देशन

सुर्खेत। बीमा समितिले बीमाको अन्तरराष्ट्रिय अभ्यास र सिद्धान्तविपरीत बीमा कम्पनीहरूलाई स्वदेशी कम्पनीमा नै शतप्रतिशत पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको छ । समितिले यति मात्र नभएर आफ्नै ऐन, नियमावली तथा निर्देशिकाको अवज्ञा गर्दै पनि बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको देखिन्छ ।

समितिले गत हप्ता जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । समितिले ऐनको कुनै दफा तथा निर्देशिकामा आधारित नभएर सामान्य पत्र लेखेर बीमा कम्पनीहरूलाई स्वदेशमा नै पुनर्बीमा गर्न ठाडो निर्देशन दिएको हो, जुन व्यावहारिक रूपमा ऐन तथा पुनर्बीमासम्बन्धी निर्देशिकाविपरीत हुने बीमा कम्पनीका अधिकारीहरूले बताएका छन् ।

समितिले कुल बीमा व्यवसायको २० प्रतिशत प्रत्यक्ष रूपमा नेपाल रि इन्स्योरेन्समा पुुनर्बीमा गर्नुपर्ने व्यवस्थालाई यथावत् राखी सबै पुनर्बीमा स्वदेशी कम्पनीहरूलाई दिनुपर्ने निर्देशन दिएको हो । स्वदेशी रि इन्स्योरेन्स कम्पनीहरूले पुनर्बीमा लिन अस्वीकार गरेको अवस्थामा मात्र विदेशी कम्पनीलाई पुनर्बीमा दिन पाइने समितिको निर्देशनमा उल्लेख छ । यो बीमाको अन्तरराष्ट्रिय अभ्यास, बीमाको सिद्धान्त र ऐनविपरीत हुने बीमा कम्पनीहरूको भनाइ छ ।

बीमा ऐनको दफा २८ र बीमा निमावलीको दफा ६ मा पुनर्बीमा गर्नुपर्ने उल्लेख छ । त्यसैको आधारमा समितिले यसै वर्ष जारी गरेको पुनर्बीमासम्बन्धी निर्देशिकाको दफा ९ मा पुनर्बीमा विविधीकरण गर्नुपर्ने भनेर व्यवस्था गरिएको छ । त्यसमा पुनर्बीमा विविधीकरणमा लीड गर्ने कम्पनीलाई बढीमा ४० प्रतिशतसम्म र अन्य कम्पनीलाई बढीमा २० प्रतिशतसम्म पुनर्बीमा दिन सकिने व्यवस्था छ । यदि, सहभागी कम्पनी रेटेड भएमा ४० प्रतिशतसम्म नै पुनर्बीमा दिन सकिने व्यवस्था छ । तर, समितिको अहिलेको ठाडो निर्देशनले उक्त निर्देशिकामा भएको व्यवस्था नै उल्लंघन हुने देखिन्छ ।

हाल नेपालमा नेपाल रि र हिमालयन रि गरेर दुईओटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यी दुवै कम्पनीले अझै रेटिङ गराएका छैनन् । एउटा कम्पनीलाई लीड बनाएर ४० प्रतिशत र अर्कोलाई सहायक कम्पनी बनाएर २० प्रतिशतसम्म पुनर्बीमा दिँदा बढीमा ६० प्रतिशतसम्मको पुनर्बीमा नेपालमै गर्न सकिन्छ । बाँकी रहेको ४० प्रतिशत पुनर्बीमा विदेश पठाउन सकिन्छ । तर, समितिले भने आफ्नै निर्देशिकामा रहेको व्यवस्था बेवास्ता गर्दै सबै पुनर्बीमा नेपालमै गर्न निर्देशन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *