एमाले महाधिवेशनः सर्वसम्मत बन्न ओलीका तीन चुनौती

काठमाडौं । नेकपा एमालेको १० मंसिरबाट सुरू हुने महाधिवेशनको तयारी र प्रचार जुन रफ्तारमा अघि बढेको छ, नेतृत्वमा दाबी गर्ने नेताहरू भने अहिलेसम्म ‘पर्ख र हेर’ मै देखिन्छन् । अध्यक्ष केपी ओलीको वरिपरि घुमेको पार्टी र महाधिवेशन रौनकलाई चुनौती दिँदै उपाध्यक्ष भीम रावलले अध्यक्षको दाबी गरेपछि भने नेताहरूबीच उम्मेदवारीको तयारी सुरू भएको छ ।

भावी नेतृत्वका रूपमा सर्वसम्मत देखिएका ओलीसमक्ष महाधिवेशनको मुखमा तीनवटा चुनौती देखिएका छन् । पार्टी फुटको चोट नसेलाउँदै सुरू हुन लागेको नेतृत्व छान्ने महाधिवेशनमा पदाधिकारी संख्याको तुलनामा आकांक्षी बढी देखिएका छन् ।

तर, ओलीको वरिपरि घुमेको एमाले राजनीतिक चक्रका कारण रावलबाहेक अरू नेताले सार्वजनिक रूपमा मुख खोलेका छैनन् । १०औँ महाधिवेशनको सम्मुखमा आइपुग्दा आफ्नो नेतृत्वमा सर्वसम्मत पदाधिकारी चयन गर्न यतिबेला ओलीका लागि तीन मुख्य चुनौती देखिएका छन् ।

अध्यक्षमा सर्वसम्मतको अभ्यास भइरहेका बेला उपाध्यक्ष भीम रावलले उम्मेदवारीको घोषणा गरेपछि ओलीलाई रावलसँगै पार्टी विभाजनका बेला एमालेतिरै लागेका १० जना स्थायी कमिटी सदस्यलाई मिलाउने मुख्य चुनौती थपिएको छ ।

रावलले उम्मेदवारी घोषणा गर्दै आफ्नो राजनीतिक निर्णय भएको बताउँदै प्रक्रियाको विषय महाधिवेशन हलमा टुंगिने बताएका छन् । उनको उम्मेदवारी घोषणाको तर्क र निकटका नेताका अनुसार रावल अध्यक्षमा दाबी गरेर वरिष्ठ उपाध्यक्षको पद सुरक्षित गर्न चाहन्छन् । तर, ओलीले रुचाएका महासचिव ईश्वर पोखरेलको वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारी छ ।

रावलसँगै ओलीलाई घनश्याम भुसाल युवराज ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका १० बुँदे सहमतिबाट एमालेमा फर्किएका नेताको व्यवस्थापन गर्ने चुनौती छ ।

रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरे घनश्याम भुसालले महासचिवमा उम्मेदवारी दिने निकटस्थ नेताहरूसँग बताएका छन् । हालका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई पनि सके पदोन्नति नत्र वर्तमान पदमै सहमति जुटाउने चुनौती पनि ओलीसँग छ ।

ज्ञवालीलाई अनुशासन आयोगको अध्यक्ष बनाउने ओलीको तयारी छ भने महिला नेतृत्वमा प्रतिस्पर्धी कम भएका कारण शाक्यलाई उपाध्यक्षमै दोहो¥याउने रणनीतिमा ओली छन् ।

उता वर्तमान सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराईदेखि लिएर रघुजी पन्तसम्मका १० बुँदे पक्षधर नेताहरूको पदाधिकारीमा अटाउने चाहनाको व्यवस्थापन गर्न पनि ओलीलाई ‘फलामको च्युरा’ हुने देखिएको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *