काठमाडौं। अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडौ रुपैयाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपैयाँ संकलन गर्ने भएको छ ।
महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् । ७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४ हजार ५ सय जना प्रतिनिधिको नामावली दर्ता हुन्छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत ३ हजार रुपैयाँ बुझाउनुपर्ने निर्णय गरेपछि थप १ करोड ३५ लाख रुपैयाँ संकलन हुने भएको हो । अधिवेशनमा नेतृत्वमा दाबी गर्ने उम्मेदवारले १ सय रुपियाँदेखि ३० हजार रुपैयाँसम्म शुल्क तोकेर करोडौं रुपैयाँ उठाएको कांग्रेसले प्रदेश अधिवेशन प्रतिनिधिले समेत नामावली दर्ताबापत २ हजार रुपैयाँ बुझाउनुपर्ने भएको छ ।
प्रदेश अधिवेशनमा ५ हजार २ सय ८० भन्दा बढी प्रतिनिधि हुन्छन् । अधिवेशन प्रतिनिधिले नामावली दर्ताबापत २ हजार शुल्क बुझाउँदा प्रदेश अधिवेशनमा प्रतिनिधिबाट मात्र १ करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने देखिएको छ । अधिवेशनका लागि भन्दै केन्द्रदेखि गाउँ तहसम्म संकलन हुने चन्दाको हिसाबकिताब नै हुने गरेको छैन ।
उम्मेदवारी दर्ताको सन्दर्भमा कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिमा सदस्यको उम्मेदवारका लागि १ सय रुपैयाँ तोकेको थियो भने केन्द्रीय सभापति उम्मेदवारका लागि ३० हजार रुपैयाँ शुल्क तोकेको छ । वडा सभापति उम्मेदवारका लागि ५ सय शुल्क तोकिएको छ भने उपसभापति, सचिव र सहसचिवका लागि ३ सय शुल्क तोकेको छ ।
प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय शुल्क छ भने वडा कार्यसमिति सदस्य उम्मेदवारका लागि १ सय रुपैयाँ शुल्क तोकिएको आजको नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले खवर लेखेका छन् ।