काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को निरन्तरताबारे उहाँले जे बुझ्नुभयो, मुख्य समस्या त्यही हो ।”
सदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन भइसकेको उनले दाबी गरे । उनले थपे, “१० बुँदे सहमति कार्यान्वयन भएन भनेर कसले भन्न सक्छ ? त्यो कार्यान्वयन भएकाले नै हरेक वडादेखि पालिकासम्मको अधिवेशन भए । अब प्रतिनिधि छनोट हुँदै छ । पार्टीको निर्णय मान्ने, नमान्ने उहाँको कुरा हो । जेठ २ को निरन्तरताका कारण त उहाँ पार्टी उपाध्यक्ष हुनुहुन्छ । उहाँसँग फोनमा कुरा हुन्छ, बैठकमा उहाँ आउनुहुन्न । यसमा केही विवाद छ भने केन्द्रले समाधान गर्ला ।”
भीम रावलले भने जस्तो कुनै नयाँ सदस्यता वितरण नभएको पनि उनले बताए । उनले भने, “पार्टीमा नयाँ सदस्यता वितरण भएको छैन । पार्टीको नीति अनुरुप नवीकरण मात्र गरेको हो । त्यसमा केही धाँधली भएको भए पनि छानबिन होला । मैले कहिल्यै गुटको राजनीति गरेको छैन । यसबारे मलाई केही थाहा छैन ।”
एमाले नेकपाकै एकताको निरन्तरता भएकाले पूर्वमाओवादीहरुको व्यवस्थापनमा कुनै समस्या नआउने उनको जिकिर छ ।
