पीएसजीको जितमा नेयमार र एम्बाप्पे नायक

एजेन्सी । फरवार्डद्वय नेयमार जुनियर र कालियन एम्बाप्पे नायक बनेको खेलमा पेरिस सेन्ट जर्मन(पीएसजी)ले जित हात पारेको छ । गएराति फ्रेन्च लिग वान अन्तर्गत भएको खेलमा पीएसजीले बोर्डेअक्सलाई ३-२ गोलले हराउँदै लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको हो ।

पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गर्दा कालियन एम्बाप्पेले एक गोल थपे । बोर्डेअक्सको लागि अल्बेर्थ इलिस र एम्बाये निआङले एक/एक गोल फर्काए । खेलको २६ औं मिनेटमा एम्बाप्पेको पासमा नेयमारले गोल गर्दै पीएसजीलाई खेलमा अगाडि बढाएका थिए । ४३ औं मिनेटमा एम्बाप्पेकै पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

६३ औं मिनेटमा विनाल्डमको पासमा एम्बाप्पेले गोल गर्दा पीएसजी सहज जिततर्फ अगाडि बढेको थियो । ७८ औं मिनेटमा अदिलको पासमा इलिसले गोल गर्दै बोर्डेअक्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । अतिरिक्त समयमा ब्रिएण्डको पासमा नि आङले गोल गर्दै बोर्डेअक्सलाई ३-२ गोलको स्थितिमा ल्याए । तर बाँकी समयमा थप गोल हुन नसक्दा पीएसजी ३-२ गोलले विजयी भयो ।

जितसँगै पीएसजी १३ खेलबाट ३४ अंक जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ । पराजित बोर्डेअक्स समान खेलबाट १२ अंकको साथ १६ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *