एजेन्सी । आईसीसी टि-२० विश्वकपमा न्युजिल्यान्डले तेस्रो जित निकालेको छ । शुक्रबार बेलुकी सम्पन्न समूहचरणको खेलमा नामिबियालाई ५२ रनले हराउँदै न्युजिल्यान्डले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।
जितको लागि १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रन मात्र बनाउन सक्यो । नामिबियाको लागि माइकल भान लिन्गेनले २५, जाने ग्रिनले २३, स्टेफेन बोर्डले २१ र डेभिड वाइजले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नामिबियालिई सस्तैमा रोक्न टिम साउदीले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिँदा मिट्चेल सान्टनर, जेम्स नशाम र इश सोधीले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । न्युजिल्यान्डको लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन बनाए । उनले २१ बलमा ३ छक्का र १ चौका प्रहार गरे । यस्तै जेम्स नशामले ३५, कप्तान केन विलियम्सनले २८, डार्यल मिटचेलले १९, मार्टिन गुप्टिलले १८ र डेभोन कोन्वेले १७ रनको योगदान गरे ।
नामिबियाको लागि बेर्नार्ड स्चोल्ट्ज, डेभिड वाइस र गेर्हार्ड इरास्मुसले एक/एक विकेट लिए ।
जितसँगै न्युजिल्यान्ड ४ खेलबाट ६ अंक जोड्दै समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । नामिबिया ४ खेलबाट २ अंकको साथ पाँचौ स्थानमा यथावत छ । हारसँगै नामिबिया प्रतियोगिताबाट बाहिरिएको छ ।