काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो कार्यकालभित्रै प्रदेशको नाम टुंगो लाग्ने बताएका छन् । मुख्यमन्त्री राईले भने, “प्रदेशको नामकरण प्रदेश सभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले सत्ता गठबन्धन र एमाले दुवैको सहमतिमा उपयुक्त नाम राख्नेछौं । यो काम मेरै कार्यकालभित्र हुन्छ ।”
राईले आफू पूर्ण कार्यकाल मुख्यमन्त्री बन्ने र प्रदेश सरकार मध्यम आकारको बन्ने बताए । उनले भने, “प्रदेश सरकार न जम्बो, न त सानो, ठिक्कको बन्छ ।” उनले मन्त्रालयहरु एकापसमा गाभिएकाले कार्यबोझ भएकाले केही मन्त्रालय फोड्नुपर्ने पनि औंल्याए । उनले भने, “संविधानको प्रावधानमै रहेर हामीले मन्त्रीमण्डल बनाउने हो । अहिले ६ वटा मन्त्रालय मात्र छन् । वन, पर्यटन र उद्योग गाभिएका छन्, स्वास्थ्य, शिक्षा, सहकारी र खेलकुद गाभिएका छन् । त्यसैले कामको लोड कम गर्न ९ या ११ वटा मन्त्रालय बनाउनुपर्ने अवस्था छ ।”
सत्ता साझेदारीभन्दा पनि खास राजनीतिक उद्देश्यका लागि प्रदेश सरकार बन्ने भएकाले गठबन्धन दलहरुबीचमा समस्या नपर्ने राईले दाबी गरे ।