डिबाला चम्किदा युभेन्टसको लगातार चौथो जित

एजेन्सी । अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला चम्केको खेलमा युभेन्सले लगातार चौथो जित निकालेको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा जेनिटलाई ४-२ गोलले हराउँदै युभेन्टसले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षीत गरेको हो ।

घरेलु मैदान एल्लिनाज रंगशालामा भएको खेलमा युनाइटेडलाई जित दिलाउन पाउलो डिबालाले दुई गोल गर्दा फेडेरिको चिएसा र अल्भारो मोराटाले एक/एक गोल गरे । जेनिटको तर्फबाट सार्दार अज्मोउनले एक गोल गर्दा एक गोल उपहार पाएको हो । खेलको ११ औं मिनेटमा डिबालाले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । २६ औं मिनेटमा लियोनार्दो बोनुचिले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि जेनिटले खेलमा बराबरी गरेको थियो ।

५८ औं मिनेटमा डिबालाले पेनाल्टीमा गोल गर्दै युभेन्टसलाई फेरि अग्रता दिलाए । ७३ औं मिनेटमा बेर्नार्डेस्कीको पासमा चिएसाले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । ८२ औं मिनेटमा डिबालाको पासमा मोराटाले गोल गर्दा युभेन्टस खेलमा ४-१ गोलले अगाडि बढेको थियो । अतिरिक्त समयको तेस्रो मिनेटमा ड्ज्युबाको पासमा अज्मोउनले गोल गर्दै जेनिटलाई ४-२ गोलको अवस्थामा ल्याए ।

तर बाँकी समयमा थप गोल गर्न नसक्दा युभेन्टस ४-२ गोलले विजयी भयो । जितसँगै युभेन्टस ४ खेलबाट १२ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । जेनिट ४ खेलबाट ३ अङ्कको साथ तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *