काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन् । मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हुन् ।
उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए । घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको जानकारी दिँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए ।
उनले आम नागरिक तथा उपभोक्ताहरुलाई ढुक्कसँग विद्युत चलाउन आग्रह गरे । उनले भने, ‘तिहारको लागि लोड अनुसारको आपूर्ति धेरै बढी छ । कुनै समस्या हुँदैन । बत्ती काट्ने, लोडसेडिङ गर्ने कुनै अवस्था छैन । ढुक्ककासाथ बत्तीको प्रयोग गर्दा हुन्छ ।’
प्रवन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको भन्दै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए ।