गठबन्धनका नेताहरू रमिता हेरिरहेका छन्ः कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानन्यायाधीश प्रकरणमा सत्ता गठबन्धनका नेताहरु रमिता हेरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कनुभन्दा पहिले नै न्यायाधीशहरुले यसको निकास निकाल्नुपर्ने बताए ।

नेता डा. भण्डारीले भने, “सर्वोच्च अदालतको विवादबाट के थाहा भयो भने, न्यायाधीशहरू कसरी सरकारी मुद्दा हराउने, ठूला मानिसलाई जिताउने, गरिबलाई न्याय दिँदै नदिने खेलमा लाग्दा रहेछन् भन्ने थाहा भयो । यो सबै दलहरूले भागबन्डा गरेर न्यायाधीश नियुक्ति गर्दाको परिणाम हो । न्यायपालिकाको अनुहार अत्यन्त कुरुप देखियो । सही मान्छे, सही तरिकाले सही ठाउँमा छान्न नसकेकाले आज सरकार, पार्टी र संवैधानिक निकाय विकृतिको दलदलमा फसेका छन् । आफ्नो पदको गरिमा राख्न नसक्दा यो समस्या आएको हो ।”

प्रतिपक्षी एमालेले संसद्लाई बन्धक बनाएकाले पनि प्रधानन्यायाधीश प्रकरण बल्झिएको उनले बताए । उनले थपे, “सबै विवाद समाधानको थलो संसद् हो । त्यसलाई एमालेले बन्धक बनाएको छ । जतिबेला पनि द्वन्द्व र झगडामा लाग्नुहुँदैन । संवैधानिक अंग कमजोर भए लोकतन्त्र नै कमजोर हुन्छ ।”

आफू लगायत नेपाली कांग्रेसका १२ केन्द्रीय सदस्यले प्रधानन्यायाधीशको राजीनामा नमागेको पनि उनले स्पष्ट पारे । उनले भने, “हामीले कुनै पनि हालतमा गैरजिम्मेवार र उच्छृंखल छैनौं, प्रधानन्यायाधीशको राजीनामा मागेका छैनौं । तर हाम्रो भनाइ के हो भने गठबन्धनका नेताहरुले जेमा पनि रमिता हेर्ने होइन । घाउको उपचार भएन भने क्यान्सर हुन सक्छ, मान्छेको मृत्यु हुन सक्छ । संविधान निकायमा लागेका घाउ पनि समयमै उपचार गर्नुपर्छ । तर ३० वर्षदेखि के देखिएको छ भने नेताहरुमा कुनै गम्भीरता छैन । अब योग्य डाक्टर खोजी गर्नुपर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *