शुक्लागण्डकीका सबै वडामा योग साधना केन्द्र विस्तार गरिने

बेलचौतारा (तनहुँ) । शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाइलीले योग साधनालाई नगरपालिकाको सबै वडामा विस्तार गर्न सकरात्मक रहेको बताएकी छन् ।

बेलचौतारा योग साधना केन्द्रद्वारा दीपावली, छठ र नेपाल सम्बत्को उपलक्ष्यमा शुक्लागण्डकी ५ मा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपमेयर रसाइलीले योगको विकास र विस्तारमा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।

तीन वर्षको अन्तरालमा योग साधना केन्द्र नगरपालिकाको ६ वटा वडामा विस्तार भइसकेको भन्दै उनले सबै वडामा योग साधना केन्द्र सञ्चालन गर्न आफ्नो साथ रहने बताइन् ।

वडा नम्बर ५ का वडाध्यक्ष दीर्घबहादुर थापाले मानिसको आचरणमा सुधार ल्याउन र नैतिकवान बनाउन योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योगको संस्थागत विस्तारको लागि स्थानीय निकाय तयार रहेको उल्लेख गरे ।

केन्द्रकी संयोजक अन्जना पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५का सदस्य पदमराज तिमिल्सिना, युवा नेपाल समिति तनहुँका संयोजक रितु भुवाई, महिला पताञ्जली तनहुँकी अध्यक्ष पार्वती पौडेल, पताञ्जली योग समिति तनहुँका मिडिया प्रभारी एकनारायण गौतम, पताञ्जली नेपालकी आजीवन सदस्य लक्ष्मी थापा, पताञ्जली नेपाल शुक्लागण्डकी नगर संयोजक दीपक श्रेष्ठ, पतञ्जली योग साधना केन्द्र वडा नम्बर ८ का संयोजक भोजराज शर्मा, केन्द्रकी साधक अमृता तिमिल्सिनालगायतले योगको महत्वमाथि प्रकाश पारेका थिए ।

बेलचौतारास्थित सामुदायिक भवनमा विगत तीन वर्षदेखि झण्डै ५० जनाले योगअभ्यास गर्दै आइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *