सङ्घीय निजामती ऐन अगाडि बढ्छः मन्त्री पौडेल

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संसद्मा रोकिएको सङ्घीय निजामती ऐन अगाडि बढ्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को शुभेच्छुक संस्था नेपाल राष्ट्रिय कर्मचारी महासङ्घ गण्डकी प्रदेशको दोस्रो भेलालाई शनिबार पोखरामा उद्घाटन गर्दै उनले ठूलो मेहेनतबाट तयार गरिएको निजामती ऐन विभिन्न कारणले संसद्मा अड्किएको भए पनि अब अगाडि बढाइने बताए ।

सो ऐन अघि बढाउन मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको मन्त्री पौडेलले जानकारी दिए । पौडेलले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टीलाई पुनःगठित र पुनःजीवित गर्ने सङ्कल्प पछिल्लो पार्टी केन्द्रीय कमिटी बैठकले गरेको उल्लेख गरे ।

उनले भने, “अन्य पार्टीभित्र नेतृत्वको झगडा भए पनि हामीमा त्यस्तो छैन, अध्यक्ष प्रचण्डको नेतृत्वमा नै देशको प्रमुख पार्टी बनाउने सङ्कल्प गरेर अघि बढेका छौँ, विसं २०६४ कै अवस्थामा पार्टीलाई पुर्याउँछौँ ।”

माओवादीको आगामी राष्ट्रिय सम्मेलनपछि देश निर्माणको वैचारिक नीति, दार्शनिक दृष्टिकोण र सशक्त नेतृत्व निर्माण गरेर अगुवाइ गरिने जनाउँदै पौडेलले सम्मेलनसम्म पार्टी पुनःगठनको प्रारम्भिक प्रक्रिया चल्ने बताए । अहिलेको संयुक्त सरकारसमेत पार्टी निर्माणमा सहयोगी भूमिकामा रहने उल्लेख गर्दै उनले पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मसँगै लिएर जाने योजना रहेको स्पष्ट पारे ।

माओवादी केन्द्र गण्डकी प्रदेशका सहइन्चार्ज एवं प्रतिनिधिसभा सांसद यशोधा सुवेदीले निजामती क्षेत्रले राज्यको परिवर्तित अवस्थालाई मध्यनजर गरी सरल र सहजरूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा विश्व ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका सहअध्यक्ष मोहनमान स्वाँर, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका केन्द्रीय अध्यक्ष हरिबहादुर रावल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीका संयोजक रुद्र गौतम, राष्ट्रिय कर्मचारी सङ्गठन निजामती गण्डकीका अध्यक्ष कृष्णप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । भेलाले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका संयोजक तारानाथ सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *