नायब सुब्बाका भरमा वीरगंजस्थित अध्यागमन कार्यालय

वीरगञ्ज । वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ । कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय नायब सुब्बा विवेक मुखिया निमित्त प्रमुखका रुपमा कार्य गर्दै आएका छन् । हाल शाखा अधिकृत नहुँदा आफूले निमित्त प्रमुखका रुपमा कार्यालय सञ्चालन गर्दै आएको कार्यालयका निमित्त प्रमुखसमेत रहेका नायब सुब्बा मुखियाले बताए ।

उनका अनुसार यसअगावै कार्यालय प्रमुख रहेका शाखा अधिकृत राज कुशवाहा पर्साको जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भई गएपछि हालसम्म उक्त कार्यालय निमित्तका भरमा नै सञ्चालन हुँदै आएको हो ।

शाखा अधिकृत एक, नायब सुब्बा दुई, खरिदार एक, लेखापाल एक, कप्युटर अपरेटर (सहायक) एक र दुई जना कार्यालय सहयोगीको दरबन्दी रहेको यस कार्यालयमा हाल नायब सुब्बा एक, खरिदार एक, लेखापाल एक र दुई जना कार्यालय सहयोगी कार्यरत छन् ।

कार्यालयले भारतको बाटो हुँदै  नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका नागरिकलाई आवश्यकताअनुसार १५/३० र ९० दिनसम्मको पर्यटन भिसा उपलब्ध गराउँदै आएको छ ।

तेस्रो मुलुकबाट भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने नेपाली नागरिकलाई आगमनका लागि अनुमति दिँदै आएको पनि छ । यसैगरी उक्त नाकाबाट भारत हुँदै तेस्रोमुलुक जाने नागरिकलाई नेपाल छोड्ने अनुमति प्रदान गर्ने कार्य पनि सो कार्यालयले गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *