चितवन। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन् ।
उनले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए । उनले ओली बालुवाटारबाट बालकोट जानुभनेको ठूलो पराजय भएको बताए । अध्यक्ष प्रचण्डले शोक छाएको नदेखाउनका लागि नै मलामी जाँदा बाजा बजाएर नाच्दै गाउँदै गएको आरोप लगाए ।
उनले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क गरे । उनले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको आरोप लगाए ।
समाज र देश विकासको लागि वाम गठबन्धन भएपनि त्योअनुसार काम हुन नसकेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘देशको राजनीति विशिष्ट अवस्थामा छ, मैले चितवन जिल्लाबाट निर्वाचनमा प्रतिष्पर्धा गर्दैगर्दा र पार्टीको तर्फबाट यहाँको जनतालाई सम्बोधन गर्दैगर्दा, सकारात्मक परिस्थिति थियो, संविधान बनिसकेपछि, राजनीतिक अस्थिरतालाई हटाउन, समाज र विकासको उद्देश्यकासाथ वाम गठबन्धनबाट निर्वाचन लडिएको थियो, कम्युनिष्टहरुलाई एकतावद्ध गर्ने उद्देश्य राखिएको थियो, त्यसले चितवन जिल्ला र देशभर नै सम्पूर्ण वामपन्थी र जनवादी शक्तिहरुमा जनताले एउटा ठूलो उर्जा जनताबाट प्राप्त भएको थियो ।’ उनले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाए ।