अल्मुताइरी नयाँ सम्झौताको लागि तयार, ३ वर्ष नेपालामै रहने

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपालमै रहने पक्का भएको छ । अल्मुताइरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नयाँ सम्झौताको लागि तयार भएको भन्दै ३ वर्ष नेपालमै रहने जनाएका हुन् ।

कतार फूटबल संघ र अखिल नेपाल फूटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको भेटवर्तापछि नयाँ सम्झौताको लागि राजी भएको अल्मुताइरीले बताएका छन् । उनले कतार फूटबल संघलाई फेरि नेपाल फर्किन सहयोग गरेकोमा धन्यवाद दिएका छन् ।

माल्दिभ्समा भएको साफ च्याम्पियन्सिपमा नेपाललाई पहिलोपटक फाइनल पुर्याउदै उपविजेता बनाएका अल्मुताइरीले लिग चरण अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि कहिल्यै नेपाल नफर्किने बताएका थिए । तर भारतविरुद्धको फाइनल खेलपछि नेपाललाई आफ्नो मुटुबाट कसैले हटाउन नसक्ने बताएका अल्मुताइरी एन्फाले चाहेको खण्डमा नेपाल फर्किन तयार रहेको बताएका थिए ।


केही दिन अगाडि कतारमा एन्फा अध्यक्ष शेर्पा र अल्मुताइरीबिच भएको भेटवार्ता सफल भएको देखिएको छ । अल्मुताइरीले नयाँ मिसनको लागि सबैलाई शुभकामना दिँदै केही समयमा दुई वर्षको लागि योजना प्रस्तुत गर्ने बताएका छन् । उनले समर्थकले दिएको माया महत्त्वपूर्ण रहेको बताउँदै लेखेका छन् ” म यो वाचा गर्छु कि नेपाली फूटबलको भविष्य राम्रो हुनेछ तर त्यसको लागि केही समय लाग्नेछ । समर्थकले मप्रति देखाएको माया सबैभन्दा महत्त्वपूर्ण छ । त्यसैले मलाई सधैं हजुरहरुको मुटुमा बस्न दिनुहोस् ।”

आफुसँगै खेलाडीलाईपनि माया र समर्थन गर्न अल्मुताइरीले आग्रह गरेका छन् । गत चैतमा अल्मुताइरी कतार फूटबल संघको सहयोगमा एक वर्षको लागि नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । त्यसपछि उनले सन् २०२२ सेप्टेम्बरसम्म सम्झौता नविकरण गरेका थिए ।

नेपाली फूटबल समर्थकमाझ निकै लोकप्रिय रहेका अल्मुताइरीबाट समर्थकले धेरै आशा गरेका छन् । उनको प्रशिक्षणमा नेपाली फूटबलले फड्को मार्न सक्ने सबैले विश्वास लिएका छन् । अब नेपालले एसिया कप छनोटको तेस्रो चरण खेल्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *