कांग्रेस महाधिवेशन फेरि सर्ने, निर्वाचन समितिलाई नयाँ कार्यतालिका बनाउन सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर भित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

मंगलबार पार्टीको पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुसँगको छलफलमा सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन निर्देशन दिएका हुन् ।

पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापतिले मंसिर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिनु भएको जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिर भित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाउन माग गरेको छ ।

महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रीय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए ।

नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिर भित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न निर्देशन दिएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *