पद्मश्री साधना सम्मानबाट भजनशिरोमणि भक्तराज आचार्य सम्मानित

काठमाडौं । पद्मश्री साधना सम्मान–२०७७ बाट यस वर्ष भजन शिरोमणि भक्तराज आचार्य सम्मानित भएका छन् । खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानका तर्फबाट विमलादेवी पोखरेलले बुधबार विशेष समारोहका बीच नगद तीन लाखसहित सम्मानपत्रद्वारा भजन शिरोमणि आचार्यलाई प्रदान गरिन् ।

भजन शिरोमणि आचार्यले आफूले विसं २०५० मा आफ्नो जिब्रो काटिएपछि धेरै सम्मान प्राप्त गरेको भए पनि हालसम्मकै सबैभन्दा ठूलो धनराशिको सम्मान पाएकामा खुशी व्यक्त गरेका उनका छोरा तथा गायक सत्यराज आचार्यले बताए ।

गायक आचार्यले सम्मानपत्र, दोसल्लाभन्दा पनि नगदले सम्मान गर्दा साहित्यकार, लेखकलाई जीविकोपार्जन तथा औषधोपचारमा सहयोग पुग्ने अनुभव सुनाए ।

त्यस्तै पद्मश्री साहित्य पुरस्कार–२०७७ बाट यस वर्ष आख्यानकार केशव दाहालको कृति मोक्षभूमिले पाएको छ । उक्त पुरस्कारको राशि पनि तीन लाख रहेको छ । उक्त पुरस्कार तथा सम्मानपत्र आख्यानकार दाहाललाई प्रतिष्ठानका तर्फबाट पोखरेलले प्रदान गरिन् ।

आख्यानकार दाहालले मोक्षभूमि औपन्यासिक कृति मानव सभ्यतामा मुक्ति चाहनेहरुको सङ्घर्षको कथा भएको र आगामी दिनमा पनि राजनीतिबाहेक लेखन क्षेत्रमा पनि निरन्तर लाग्ने प्रतिबद्धत्ता व्यक्त गरे ।

गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रतिष्ठानमार्फत विसं २०६३ देखि उक्त सम्मान र पुरस्कार प्रदान गर्दै आएको र आगामी वर्षबाट तीन लाख राशिकै पद्मश्री समाज सम्मानबाट पनि विभिन्न सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने बताए ।

प्रतिष्ठानले प्रत्येक कोजाग्रत पूर्णिमामा उक्त सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको र शक्ति, सत्ता, सम्पत्ति र जागिरभन्दा साहित्य साधना ठूलो भएको लेखकसमेत रहेका लामिछानेको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव रवीन्द्र समीर र प्रतिष्ठानको आगामी वर्ष उत्कृष्ट कृति छनोटका संयोजक राम लोहनीले चैत मसान्तसम्म प्रकाशन भएका नयाँ कृतिहरू २०७९ वैशाखभित्र उपलब्ध गराउन आग्रह गरे । आगामी वर्षका लागि कृति छनोट गर्न लोहनीको संयोजकत्वमा कुमारी लामा र नयनराज पाण्डे सदस्य रहेको समिति गठन गरिएको छ ।

कार्यक्रममा खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तयार गरेको महेश पौडेलद्वारा अनुदित ‘सेलेक्टेड नेपाली स्टोरिज’ नामक पुस्तकको साहित्यकारद्वय ध्रुवचन्द्र गौतम र खगेन्द्र सङ्ग्रौलाले सार्वजनिक गरेका थिए । उक्त समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले ‘साहित्यकारदेखि सत्तासम्म’ विषयक विद्वत् प्रवचन दिँदै साहित्यकार पनि सत्तामा पुगेको तर उनीहरु कोमल हृदयका हुन्छन् भन्ने कुरा आफूलाई विश्वास नलागेको बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *