नेपाललाई हराउँदै भारत आठौं पटक साफ च्याम्पियन

काठमाडौं । भारतले दक्षिण एसियाली राष्ट्रमाथि आफ्नो दबदबा कायम गर्दै सर्वाधिक आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा पहिलो पटक फाइनल खेलेको नेपाललाई ३-० गोलले पराजित गर्दै भारतले उपाधि चुमेको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन सुनिल क्षेत्री,सुरेश सिंह र सहल समदले समान एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भारतले ३ गोल गरेको हो । बलियो भारतलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफ सोही लयलाई निरन्तरता दिन नसक्दा नेपाल पराजित हुन बाध्य भयो ।

खेलको ४८ औं मिनेटमा प्रितम कोटालको क्रसमा सुनिल क्षेत्रीले हेडिङ गोल गर्दै भारतलाई खेलमा अगाडि बढाएका थिए । प्रतियोगितामा सुनिलको यो पाँचौ गोल हो । ५० औं मिनेटमा यासिर सुरेश सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । यस्तै खेलको अन्तिम मिनेटमा सहाल समदले गोल गर्दै भारतलाई ३-० गोलको शानदार जित दिलाए ।

यसअघि खेलको चौथो मिनेटमै भारतका याशिरले डि-बक्स बाहिरबाट हानेको बल किरण चेम्जोङले राम्रो समात्न नसकेपनि रिवाउन्डमा हानेको बललाई आफैले बचाए । छैटौं मिनेटमा सुमन लामाले हानेको प्रहार भारतीय गोलरक्षक गुरप्रित सिंहले बचाए ।

१७ औं मिनेटमा सुजलले डि-बक्समा दिएको क्रसलाई रोहितले राम्रोसँग कट्रोल गर्न नसक्दा नेपालले गोल गर्ने मौका चुकाएको थियो । २७ औं मिनेटमा अनिरुध थापाको पासमा सुनिल क्षेत्रीले गरेको प्रहार नेपालका गोलरक्षक किरण चेम्जोङले रोके । पहिलो हाफको अन्तिम समयमा भारतले सुन्दर मौका गुमायो । मैदानको दायाँ भागबाट प्रितमले गरेको क्रसमा सुनिलको भली आकासिदा भारतले अग्रता लिने मौका गुमाएको थियो ।

जितसँगै भारतले आठौं पटक साफको उपाधि जितेको छ । यता पहिलोपटक फाइनल खेलेको नेपालको उपाधि जित्ने सपना सपनामै सिमित भएको छ ।

तस्बिर:- इन्डियन फूटबल 

Leave a Reply

Your email address will not be published. Required fields are marked *