म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने

म्यानमारमा गएको फेब्रुअरीमा सत्ता हत्याएका सैनिक जनरललाई यसै महिनाको अन्त्यमा हुने एउटा वार्षिक सम्मेलनमा सहभागी नगराउने निर्णय गरिएको छ । दक्षिण पूर्वी एसियाली देशहरूको सङ्गठन (आसियान)ले जनरल मिन ओङ ह्लाइङको सट्टामा गैर राजनीतिक प्रतिनिधि बोलाउने सहमति गरेको हो ।

सदस्य देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने परम्परा रहेको १० सदस्यीय क्षेत्रीय समूहले गरेको यो अभूतपूर्व किसिमको निर्णय हो । आसियानले म्यानमारको द्वन्द्व अन्त्य गर्न सेनाले पर्याप्त नगरेको बताएको छ । गएको अगष्टमा सेना प्रमुख मिन ओङ ह्लाइङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए ।

उनले सैनिक कूको विरोध गरिरहेका मिलिसिया र सेनाबीच लडाइँ भइरहेकाले देशमा सङ्कटकालको अवस्था लम्ब्याइएको पनि घोषणा गरेका थिए । आसियानले शुक्रवार बसेको उक्त सङ्गठन आबद्ध देशका विदेशमन्त्रीको आपत्कालीन बैठकमा म्यानमारको सेनालाई अक्टोबर २६ देखि २८ सम्म हुने शिखर बैठकमा प्रतिनिधित्व गर्न दिने या नदिनेमा सहमति नभएको विज्ञप्तिमार्फत् जनाएको छ ।

उक्त समूहले म्यानमारका सैनिक नेताहरूले संवाद र द्वन्द्व कम गर्ने आफ्ना वाचा पूरा गर्न नसकेको र आफ्ना प्रतिनिधिहरूलाई हाल नजरबन्दमा राखिएकी आङ सान सू चीलाई भेट्न नदिइएको जनाएको छ । शिखर सम्मेलन आयोजक रहेको ब्रुनाइले म्यानमारको अवस्थाले ’क्षेत्रीय सुरक्षा, एकता, विश्वसनीयता र आसियानको केन्द्रीयतामा प्रभाव पारिरहेको’ जनाएको छ ।

गएको एप्रिलमा आसियानले म्यानमारका सैनिक प्रमुखलाई देशमा जारी हिंसात्मक दमन रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो । आसियानले सम्मेलनमा भाग लिन आफूले निम्तो दिने म्यानमारका प्रतिनिधिको नाम भने खुलाएको छैन ।

फेब्रुअरीमा सेनाले सत्ता हातमा लिए यता म्यानमारभर प्रदर्शनहरू भएका छन् । सुरक्षा फौजहरूले गरेका निर्मम दमनमा १ हजार भन्दा बढी मारिएको र ६ हजार भन्दा बढीलाई थुनामा लिइएका राजनीतिक बन्दीहरूलाई सहयोग गर्ने एउटा निकायले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *