नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोली पहिलो पटक साफ च्याम्पियनसिप फूटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको लिगचरणको आफ्नो अन्तिम खेलमा १० खेलाडीमा समेटिएको बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल साफ इतिहासकै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपालको लागि अन्जन विष्ट र बंगलादेशको लागि सुमन रेजाले एक गोल गरे । खेलमा बंगलादेशले शुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको आठौं मिनेटमा सुमन रेजाले गोल गर्दै बंगलादेशलाई खेलमा अगाडि बढाएका थिए ।

खेलमा लगातार आक्रमण बुनेपनि नेपालले गोलको लागि दोस्रो हाफको अन्तिम समयसम्म कुर्नुपर्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहेको अवस्थामा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याए । विपक्षी खेलाडीले अन्जन विष्टलाई डि-बक्स क्षेत्रमा लडाएपछि नेपालले पेनाल्टीमा जितेको थियो ।

यसअघि बंगलादेशका गोलरक्षक अनिसुर रहमान रातो कार्ड खाँदै मैदान बाहिरिएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । रहमानले पेनाल्टी क्षेत्र बाहिर आउँदै हातले बल छोएपछि रेफ्रीले उनलाई सिंधै रातो कार्ड दिएका हुन् ।

बराबरीसँगै दुवै टोलीले एक/एक अङ्क बाढेका हुन् । हाल नेपाल ४ खेलबाट ७ अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ । बंगलादेश ४ खेलबाट ५ अङ्क जोड्दै चौथो स्थानमा रहेसँंगै प्रतियोगिताबाट बाहिरिएको छ ।

अब नेपालले उपाधिको लागि शनिबार नेपाल र माल्दिभ्समध्य एक टोलीसँग खेल्नेछ । आज राति भारत र माल्दिभ्सबिच हुने लिगचरणको अन्तिम खेलपछि फाइनल पुग्ने अर्को टोलीको टुंगो लाउनेछ ।

तस्बिर:- एन्फा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *