बंगलादेशविरुद्ध नेपालको शुरुवाती ११ घोषणा

काठमाडौं । साफ च्याम्पियनसिप फूटबल अन्तर्गत बंगलादेशविरुद्ध केहि समयमा शुरु हुने खेलको लागि नेपालको शुरुवाती ११ घोषणा गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा नेपालको शुरुवाती ११ घोषणा गरेका हुन् ।

भारतविरुद्धको खेलमा शुरुवात गरेका खेलाडीबाट अल्मुताइरीले तीन खेलाडी परिवर्तन गरेका छ्न् । उक्त खेलमा शुरुवात गरेका सुमन अर्याल, सुमन लामा र मनिष डाँगीको स्थानमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानले शुरुवाती ११ मा स्थान बनाएका छन् । मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ४:४५ बजे शुरु हुनेछ ।

हालसम्म प्रतियोगिताको फाइनल पुग्न नसकेको नेपाल पहिलोपटक फाइनल खेल्दै उपाधि जित्ने लक्ष्यसाथ माल्दिभ्स पुगेको हो । फाइनल प्रवेशको लागि नेपाललाई आजको खेलमा बराबरी पर्याप्त रहनेछ । तर मंगलबार भएको प्रेस कन्फ्रेन्समा बोल्दै नेपालका सहायक प्रशिक्षक किरण श्रेष्ठले नेपाल जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिने बताएका छन् ।

प्रतियोगिताको शुरुवाती दुई खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० गोल र श्रीलंकालाई ३-२ गोलले पराजित गरेको नेपाल भारतसँग १-० गोलले स्तब्ध भएको थियो । हाल नेपाल ३ खेलबाट ६ अङ्क जोड्दै तालिकाको शिर्ष स्थानमा रहेको छ । नेपाल आजको खेल जित्दै शिर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गर्न चाहन्छ ।

यसअघि पछिल्लो पटक दुई टोलीबिचको भेट मार्चमा काठमाडौंमा भएको थियो। उक्त खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गर्दै थ्री-नेसन्स कपको उपाधि उचालेको थियो । त्यसैले नेपाल आजको खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

यता बंगलादेशलाई भने फाइनल प्रवेशको लागि स्पष्ट जितको आवश्यकता रहेको छ । हाल बंगलादेश ३ खेलबाट ४ अङ्क जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई १-० गोलले हराएको थियो भने दोस्रो खेलमा भारतसँग १-१ गोलको बराबरी खेल्दै अङ्क बाढेको थियो । यस्तै तेस्रो खेलमा बंगलादेश आयोजक माल्दिभ्ससँग २-० गोलले पराजित भएको थियो ।

यस्तै आज हुने दोस्रो खेलमा आयोजक माल्दिभ्स र भारत आमनेसामने हुँदैछन् । खेल नेपाली समय अनुसार ९:४५ बजे शुरु हुनेछ । फाइनल प्रवेशको लागि भारतलाई जितको विकल्प छैन ।

नेपाल विरुद्ध बंगलादेश: हेड टु हेड

हालसम्म नेपाल र बंगलादेश २२ पटक आमनेसामने भएका छन् । जसमध्य १३ खेलमा बंगलादेश विजयी भएको छ भने ७ खेल नेपालले आफ्नो पोल्टामा पारेको छ । बाँकी २ खेल बराबरीमा सकिएको थियो ।

नेपालको शुरुवाती ११: किरण चेम्जोङ(गोलकिपर, कप्तान); गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, सुजल श्रेष्ठ; तेज तामाङ, रोहित चन्द, पुजन उपरकोटी; आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *