काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फूटबल प्रतियोगितामा नेपालले पहिलो हार चाखेको छ । आइतबार राति भएको खेलमा नेपाललाई १-० गोलले पराजित गर्दै भारतले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
मालेस्थित राष्ट्रिय फूटबल रंगशालामा भएको खेलमा भारतलाई जित दिलाउन सुनिल क्षेत्रीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई खेलमा अगाडि बढाएका थिए । खेलको अन्तिम समयमा नेपालले गोल गर्ने केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन बाध्य भयो ।
जितसँगै भारत ३ खेलबाट ५ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ३ खेलबाट ६ अङ्कको साथ शिर्ष स्थानमा यथावत छ । अब नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार बंगलादेशको सामना गर्नेछ ।
तस्बिर:- एन्फा