काठमाडौं। नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटाले राजीनामा नगरेसम्म संसद्को अवरोध जारी रहने बताएका छन् । सभामुख सापकोटा एमाले विभाजनको मतियार भएकाले उनलाई पार्टीले स्वीकार नगर्ने उनको दाबी छ ।
प्रमुख सचेतक भट्टराईले भने, “सभामुखले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३, प्रतिनिधिसभा नियमावलीको पालना गर्नुभएन । नियमावली अनुसार पार्टीले सांसदलाई कारबाही गरेको सूचना संसद् चलेको बेला संसद्मा सुनाउने, नचलेको बेला टाँस गर्ने हो । सभामुख ढिलै भए पनि एमालेका १४ जना सांसदमाथि कारबाही गरेको सूचना टाँस गरेर सच्चिन तयार हुनुहुन्न भने मार्ग प्रशस्त गर्नुपर्यो । अरु तटस्थ व्यक्तिले संसद् चलाउँछ ।”
उनले सभामुखले एमालेमाथि अन्याय गरेको आरोप पनि लगाए । उनले थपे, “सभामुखले एमालेलाई अरु पार्टी सरह व्यवहार गर्न सक्नुभएन । सरिता गिरीको २४ घन्टा, टोपबहादुर रायमाझी लगायतको ३० घन्टामा पालना गर्ने सभामुखले एमालेका १४ सांसदमाथिको कारबाहीको सूचना १३ दिनसम्म टाँस्नुभएन र एमाले विभाजनको मतियार बन्नुभयो । उहाँले राजीनामा नगरेसम्म चालू संसद्को अधिवेशनमा पूर्ववत् विरोध यथावत् रहन्छ ।”
जनताले माया गरेको पार्टी एमालेमाथि सर्वोच्च अदालत, निर्वाचन आयोग, सभामुख लगायतले अन्याय गरेकाले आवाज उठाइरहने उनको दृढता छ । अध्यादेश ल्याएर दल फुटाई संसदीय व्यवस्था बदनाम गराउने कामको विरोध प्रमुख प्रतिपक्षले गर्नु स्वाभाविक भएको उनको दाबी छ । उनले भने, “प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठकमा एमालेलाई किन मुछ्नुपर्यो ? हामी सर्वदलीय बैठकमा बस्दैनौं । प्रधानमन्त्रीले हामीसँग सीधा संवाद गरे भइहाल्यो नि ।”
तीन महिनासम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले अरु काम गर्छ भन्ने विश्वास जनतालाई नलागेको पनि उनले बताए ।