भैरहवालाई हराउँदै पोखरा ईपीएलको फाइनलमा

काठमाडौं । पोखरा राइनोज चौथों संस्करणको बजाज पल्सर एभरेष्ट प्रिमियर लिग(ईपीएल)को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर्सको खेलमा भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा फाइनलमा पुगेको हो ।

जितको लागि १ सय २० रनको मध्यमा लक्ष्य पछ्याएको पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा १ सय २३ रन बनाउँदै लक्ष्य भेट्टायो । सहन अर्च्चिगने र विपिन रावलले चौथो विकेटको लागि ८८ रनको साझेदारी गर्दै पोखरालाई जित दिलाए । पोखराको लागि सहनले ४४ बलमा ५३ रन जोडे । उनले ७ चौका प्रहार गरे । विपिन रावलले ३४ बलमा ३ चौका र १ छक्कासहित ४० रन बनाउँदा रिचार्ड लेभीले १४ र रित गौतमले ६ रनको योगदान गरे ।

भैरहवाको लागि भुवन कार्कीले ३ ओभरमा १ मेडन राख्दै १६ रन दिएर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । एक समय ५१-५ को अवस्थामा रहेको भैरहवाको इनिङ्स शरद भेषवाकर र अरिफ शेखले उकासेका थिए । भैरहवाको लागि शरदले सर्वाधिक ३२ रन जोडे । उनले ३३ बलमा २ चौका र  १ छक्का प्रहार गरे । यस्तै अरिफ शेखले २४ बलमा १ चौका र १ छक्कासहित २७ रन बनाउँदा रोहित पौडेलले १८, प्रदिप एरिले ११, र उपुल थारांगाले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

पोखराको सहन अराच्चिगेले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । किशोर महतोले ४ ओभरमा १ मेडन राख्दै २१ रन दिएर २ विकेट लिँदा नन्दन यादव र असला गुनारात्नेले १/१ विकेट लिए ।

अब पोखराले शनिबार हुने फाइनल खेलमा चितवन टाइगर्सको सामना गर्नेछ ।

तस्बिर:- पोखरा राइनोज फेसबुक पेज 

Leave a Reply

Your email address will not be published. Required fields are marked *