यात्रुसँग बढी भाडा लिन खोज्ने ९ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई काठमाडौबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ ।

बिगतका बर्षहरुमा झै चाडपर्बको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने गर्दछ । यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समुहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यबस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ ।

ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुहरुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तीहरुलाई निग्रानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

विभिन्न टिकट काउण्टरमा आबद्ध भई बिना परिचयपत्र बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनी मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षीय सविन राई पक्राउ परेका हुन् । त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने राज ठकुरी, दाङ घोराहीका विशाल गुरुङ्ग र कैलालीका रमेश कठायत गोंगबुबाट पक्राउ परेका हुन् ।

उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ । त्यसैगरि कलंकीबाट नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई कीर्तिपुर बस्ने नारायणी काउण्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *