काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले संसद् पुनःस्थापना र संविधान रक्षाका लागि आफ्नो पार्टीले गरेको भूमिकाको नजरअन्दाज भएको आशंका गरेका छन् ।
चौधरीले भने, “हुन त हामी मन्त्री बन्नका लागि लडेका होइनौं, सरकार मेजर कुरा पनि होइन । तर हाम्रो भूमिकाबारे प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ध्यान नपुर्याएको देखिन्छ, उहाँहरुको पनि आफ्नै बाध्यता होलान् ।”
यसको बाबजुद पनि गठबन्धन र संसद्लाई पूर्णकाल टिकाउनका लागि सरकारमा सहभागी हुने उनले बताए । चौधरीले भने, “आफ्ना महत्त्वपूर्ण मन्त्रालय राख्ने, बचे खुचेका र कमजोर मन्त्रालय जिम्मा लगाउने कुरा गठबन्धनको स्पिरिटसँग तालमेल खाँदैन ।” चौधरीले रक्षा मन्त्रालयको एकीकृत समाजवादी पार्टीले पाउने निश्चित नभएको बताए । कानुन मन्त्रालय पाएपछि रक्षा कांग्रेस लिने सुनेको उनको भनाइ थियो ।
आज बिहान १०–११ बजेतिर अन्तिम नाम र मन्त्रालय फाइनल भएपछि दिउँसो तीन–चार बजेसम्म सपथ ग्रहण हुने उनले जानकारी दिए ।
