काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिजालले केपी ओली राष्ट्रिय राजनीतिको मियो भएकाले पार्टीमा उनको नेतृत्व अपरिहार्य भएको बताएका छन् । जारी विधान महाधिवेशनमा ओलीको चर्चा, परिचर्चा र वाहवाही स्वाभाविक भएको दाबी उनले गरे ।
नेता रिजालले भने, “अहिले राष्ट्रिय राजनीतिमा सबै दल एकातिर छन्, एमाले एक्लै अर्कोतिर उभिएको छ । एमालेको नेतृत्व केपी शर्मा ओलीले गर्नुभएको छ । त्यसैले ओलीको नेतृत्वको विकल्प कसैले पनि सोचेको छैन । ओलीको नेतृत्व अपरिहार्य छ । पार्टी एकीकृत या सहज अवस्थामा भएको भए पर्याप्त विकल्प थिए । छनोटको विकल्प पनि आउँथ्यो । अहिलेको अवस्थामा अरु नेतालाई मान्ने कुरा छैन । उहाँलाई चुनौती दिनु भनेको एमालेलाई कमजोर बनाउनु र एकतालाई तितरबितर बनाउनु हो ।”
रिजालले नेकपा एमालेको विधान महाधिवेशनमा ओलीको वाहवाही स्वाभाविक भएको बताए । उनले थपे, “नेकपा एमालेको विधान महाधिवेशन देउवामय प्रचण्डमय, मोहनविक्रममय, सीपी मैनालीमय हुन्न । केपी ओलीकै चर्चा हुन्छ, त्यो स्वभाविक हो । किनभने ओली अहिले राष्ट्रिय राजनीतिको मियो हो ।”
पार्टीलाई बलियो बनाउने कि नेतालाई बलियो बनाउने भन्ने प्रश्नमा उनले भने, “हामी एमालेलाई बलियो बनाउन चाहन्छौं । अहिले पार्टीमा देखिएको संकटलाई ओलीको नेतृत्वमा नै त्यसलाई पार लगाउनुपर्छ भन्ने हाम्रो धारणा छ । हामीले आगामी महाधिवेशनमा अध्यक्ष र चुनावपछि प्रधानमन्त्री बनाउने औपचारिक निर्णय त गरेका छैनौं । तर आगामी दिनमा उहाँको विकल्प सोच्न पनि सकिन्न ।”
नेता रिजालले एमाले कुनै पनि छिमेकीको पक्ष या विपक्षमा नउभिने बताए ।
