गण्डकी । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न ११ देशका राजदूत आइतबार पोखरा आएका छन् । कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली विश्व पर्यटन दिवसका अवसरमा तीन दिने पोखरा भ्रमणका लागि आएको हो ।
टोलीमा यूएई, कतार, फिनल्यान्ड, उत्तर कोरिया, साउदी अरब, श्रीलंका, दक्षिण कोरिया, थाइल्यान्ड, बंगलादेश, इजिप्ट, जर्मनी र मलेसियाका राजदूत सहभागी छन् ।
त्यस्तै भ्रमण टोलीमा सार्कका महासचिव, संयुक्त राष्ट्रसंघकी रेसिडेन्ट कोअर्डिनेटर, इसिमोडका महानिर्देशक, अन्तर्राष्ट्रिय आप्रवासी संगठनकी चिफ अफ मिसन, यूएनएड्सका कन्ट्री डाइरेक्टर, यूएनडीपीका प्रतिनिधि, युनेस्कोका प्रतिनिधि, विश्व खाद्य कार्यक्रमका कन्ट्री डाइरेक्टरको सहभागिता छ ।
टोलीलाई गण्डकी प्रदेश सरकार, पर्यटन बोर्ड, पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघसंस्थाले विमानस्थलमा स्वागत गरे । टोली आइबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको रात्रिभोजमा सहभागी हुनेछ ।
विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) का दिन सोमबार बिहान टोलीले कास्कीकोटमा रहेको अपांगमैत्री पहुँचयुक्त पदयात्रा मार्गमा हाइकिङ गर्नेछ । त्यस्तै कास्कीकोट दरबार, कश्यपताल हुँदै सराङकोटसम्म हाइकिङ हुनेछ ।
टोलीले पोखराका मुख्य पर्यटकीय गन्तव्यको भ्रमण गर्नेछ । प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन नै भ्रमणको मुख्य उद्देश्य रहेको बताए । पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख काशीराम भण्डारीले राजदूतमार्फत् ती देशमा पोखरा खुला र सुरक्षित रहेको सन्देश पुग्ने बताए । टोली तीन दिनसम्म पोखरामा बस्नेछ ।






